धरान : छैटौँ हराईजन राष्ट्रिय बास्केटबल कप यही चैत ५ गतेदेखि ११ गते सम्म हुने भएको छ । 

हराईजन क्लब धरान-१७ ले आज पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो । स्वास्थ्यको लागि, शिक्षाको लागि र राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ हरेक वर्ष हुँदै आएको प्रतियोगिता हराइजाइन खेलमैदान धरान १७ मा हुने बताइएको छ । पत्रकार सम्मेलनमा हराईजन क्लबका अध्यक्ष वसन्त राईले प्रतियोगितामा देशभरबाट ८ वटा टिम सहभागी हुने जानकारी दिए । 

प्रतियोगितामा प्रदेश १ बाट आयोजक हराईजन क्लब, त्रिभुवन आर्मी, जिल्ला बास्केट बल सङ्घ रुपन्देही, बिर्तामोड बास्केटबल क्लब झापा, विराटनगर बास्केटबल एकेडेमी मोरङ, ब्रर्दश क्लब धरान, रोयल बास्केटबल एकेडेमी काठमाडौँ र टाईम्स बास्केटबल क्लब काठमाडौँ गरी ८ वटा टिम सहभागी हुनेछन् । 

प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ हात पर्नेछ । प्रतियोगितामा गत वर्षको तुलनामा नगद पुरस्कार राशि थप गरिएको अध्यक्ष राईले जानकारी दिए । अघिल्लो संस्करणमा प्रथम पुरस्कार १ लाख र उपविजेताको पुरस्कार ५० हजार मात्र रहेको थियो । 

यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिइनेछ । प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि (टुबोर्ग बियर), सह प्रायोजक धरान १७, धरान १७ समाज हङकङ, धरान समाज युके रहेको छ । यसै गरी प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिका र नेपाल बास्केटबल सङ्घ, सुनसरी बास्केटबल सङ्घ, कोइच क्याफे धरान, सेन्ट जोसेफ बोर्डिङ स्कुल धरान र मेहर कलेक्सनको सहयोग रहेको छ । 

२०६९ सालदेखि सुरु भएको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणमा आयोजक हराईजन क्लब विजयी भएको थियो भने २०७३ र २०७५ मा इमोर्टल्स क्लब धरान विजयी भएको थियो । यसै गरी २०७७ मा नेपाल आर्मी काठमाण्डौं विजयी भएको थियो ।