धरान : काठमाण्डौको विशाल मिलन केन्द्र धरानमा जारी छैटौँ हराईजन राष्ट्रिय बास्केटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । 
धरान स्थित हराइजन क्लबको कोर्टमा आज भएको खेलमा विराटनगर बास्केटबल क्लबलाई ८३ का विरुद्ध ९८ स्कोरले पराजित गर्दै काठमाण्डौले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 
पहिलो र दोस्रो क्वाटरमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले तेस्रो र अन्तिम क्वाटरमा सम्हालिन नसक्दा क्वाटर फाइनलबाटै बाहिरिनुपरेको हो । आजको खेलमा विशाल मिलन केन्द्रका दिप्सन केसी म्यान अफ द म्याच घोषित भए । उनले सर्वाधिक ३१ अङ्क जोडेका थिए । 
भोलिको खेल ब्रदर्श क्लब धरान र रोयल्स एकेडेमी काठमाडौँ बिच हुने आयोजकले जनाएको छ । चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।