सुनसरी : बराह बचत तथा ऋण सहकारीले तोकेको समयमा रकम तिर्न नसकेपछि पीडितहरू थप पिडामा परेका छन् । बराह सहकारी आफैँले राखेको भाखा भदौ १६ सम्म पीडितहरूको रकम तिर्न नसक्ने जानकारी दिएको सङ्घर्ष समिति पत्रकार सम्मेलनमा बताएको छ । आज (मंगलबार) बराह सहकारीको भवन भित्रै पत्रकार सम्मेलनको आयोजना गरी सहकारीले तत्काल कुनै पनि रकम दिने सम्भावना नरहेको उनीहरूले बताएका हुन् । यस अघिका वार्ता र छलफलबाट कुनै समाधान बाटो ननिस्किएको भन्दै पत्रकार सम्मेलन गर्न बाध्य भएको पीडित संर्घष समितिले जनाएको छ । 
समितिका कार्यवाहक संयोजक श्याम प्रसाद ढकालले बराह सहकारीको अपारदर्शिता र अपरिपक्व व्यवहारले आजित भएको बताए । उनले सहकारी सञ्चालक समिति, धरान उपमहानगर र पीडित पक्षसँग बसेर छलफल गर्दा तत्काल रकम दिने छाँटकाँट नदेखिएको बताए । छलफलमा हामी कमाएर तिर्छौ अब ७/८ वर्ष रकम नमागिदिनु जस्ता हुनै नसक्ने बहाना राख्ने गरेको कार्यवाहक संयोजक ढकालको भनाई छ । बचतकर्ता भोकभाकै मर्ने अवस्था आइसक्यो, चाडपर्व आयो कसरी व्यवहार धान्ने भन्ने चिन्ता थपिएको बेला अझै ८ वर्ष पर्खनु भन्ने गैरजिम्मेवार जवाफ दिएको उनको दुखेसो छ । 
त्यस्तै पीडित सङ्घर्ष समितिका कार्यवाहक प्रवक्ता राम बहादुर परियारले एक महिना पछि, दुई महिना पछि भन्दै गत पुष महिना देखि भाका राख्दै आज सम्म झुलाएको बताए । 
उनले यति लामो आन्दोलन र छलफल गर्दा पनि सहकारीले रकम दिन तयार नभएको बताए । सञ्चालक समितिको सम्पूर्ण रकम रोक्का गर्ने धरान उपमहानगरले विभिन्न निकायलाई पत्र पठाए पनि आज सम्म कुनै पनि कार्यालयले रोक्का गरेको जानकारी नआएको परियारको भनाई छ । यस अवधिमा आर्थिक सङ्घर्ष समितिको निर्णय बिना कसैलाई पनि रकम नदिने निर्णय भएको तर सङ्घर्ष समितिलाई थाहा नदिई ३९ जना बचतकर्तालाई १६ लाख १७ हजार ३ सय रकम दिएको समेत पाइएको छ । ती रकम लिने सञ्चालक समितिमा रहेका व्यक्तिका नजिकका रहेको समेत पीडित पक्षको आरोप छ । 
बराह सहकारीले १८ हजार बढी सेयर सदस्य र बचतकर्ताको करिब १४ अर्ब दिनु पर्ने देखिएको छ । तर ७ अर्ब ५० करोडको मात्रै सम्पत्ति देखाएको छ । बाँकी ६ अर्ब ५० करोड रकम कहाँ कसरी लगानी गरियो भन्ने तथ्यगत विवरण सहकारीले दिन सकेको छैन । 
जसका कारण आम बचतकर्ताबाट रकम उठाएर व्यापक हिनामिना गरेको पीडित संर्घष समितिको भनाई छ । सहकारीले उक्त रकम २८ वर्ष व्यापार व्यवसाय गर्दा सुनमा लगानी गरेको तर घाटा भएको गैरजिम्मेवार जवाफ दिएपछि पीडितहरू के गर्ने भन्ने तनावमा छन्। 
सङ्घर्ष समितिले ३६ पटक सम्म वार्ता गरिसकेको छ । पछिल्लो पटक जेठ १६ गतेको सम्झौता अनुसार रकम दिने भाका आगामी भदौ १६ गते सकिँदै छ। त्यसपछि सहकारी कार्यालय तोडफोड तथा व्यक्तिगत तथा संस्थागत गाली लगौज भए सङ्घर्ष समिति जिम्मेवार नहुने, स्वयम सहकारी आफैँ जिम्मेवार हुनु पर्ने समेत पीडित पक्षले जानकारी गराएको छ । आगामी १६ गते सम्म केही नगर्ने त्यसपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने समेत समितिले जनाएको छ ।
baraha-pidit-2
barah-pidit-1