इटहरी : बितेको पाँच वर्षमा इटहरीमा सबैभन्दा धेरै चर्चा र खोजी भएको विषय हो सुविधा सम्पन्न अस्पताल । दुई ठुला सहरको बिचमा रहेर विकासको लय पक्रेको इटहरीमा एउटा सुविधा सम्पन्न अस्पताल नहुनु दुर्भाग्य भन्दै अस्पताल बनाउन सबैको माग  थियो ।

यो पाँच वर्षमा अस्पताल निर्माणको लागि धेरै बजार हल्ला भयो, तर काम भएन । अस्पताल बनाउने भन्दै कतै शिलान्यास पनि गरियो, जग्गा खोजी गर्न भन्दै समिति पनि बन्यो । तर न जग्गा भेटियो, न त अस्पताल बन्यो । बरु तत्कालीन मेयरले अर्काको जग्गामा थाहै नदिई अस्पताल शिलान्यास गरेको भन्दै विवाद भयो ।   

राजनीतिक दलहरूले आ-आफ्नो घोषणा पत्रमा २ सय बेडको अस्पताल बनाउने भनेर घोषणा गरे । घोषणा गरेको काम नभए पछि सांसद हराएको सूचना भन्दै व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा आलोचना भयो । सांसदहरू निःशब्द भए । लाजले मुख लुकाएर भाग्नुपर्ने अवस्था आयो । 
सुविधा सम्पन्न अस्पतालको विषयमा चर्चा धेरै हुने तर जनताले उपचारमा हैरानी भोग्नुपर्ने बाध्यता भएपछि इटहरी उपमहानगरले अहिले काम गर्ने शैलीमा परिवर्तन गरेको छ । सानो सानो कुरामा सुधार गर्दै इटहरी अस्पतालले सेवा दिन थालेको छ । 
इटहरी अस्पतालमै सेवा विस्तार गर्दै जनतालाई सहज रूपमा उपचार दिन थालेको छ । १ वर्ष अघि सम्म अस्पतालमा पर्याप्त डाक्टर नभएर सेवा लिन आएका जनता त्यसै फर्कनुपर्ने बाध्यता अहिले भने हटेको छ । 
रेफर हैन अब उपचार हुन्छ 
एक समय थियो, इटहरीको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न आएका बिरामीहरू उपचार हैन रेफर लिएर फर्कनु पर्दथ्यो ।इटहरी अस्पतालमा डाक्टर नहुँदा बिरामीलाई रेफर दिँदै पठाउनु पर्दथ्यो । 
तर अहिले इटहरी अस्पतालमा ५ जना डाक्टरहरूले दैनिक ओपिडीमा बिरामीहरूलाई चेकजाँच गर्दै सेवा गरिरहेका छन् । अहिले डा.अशोक चेम्जोङ, डा.नमिता अधिकारी, डा.शिव नारायण शर्मा,डा. सुशान्त चौधरी, एसएमएस नबिना बानियाले दैनिक रूपमा ओपिडीमा बिरामी चेकजाँच गरिरहेको अस्पतालका स्वास्थ्य निरीक्षक दामोदर गौतमले जानकारी दिए ।  
ओपिडीमा विशेषज्ञ डाक्टरले नै बिरामी जाँच गर्न थालेपछि उपचारमा आउने बिरामीको सङ्ख्या पनि अहिले बढेको छ । अहिले दैनिक ४ सय बिरामीले उपचार लिइरहेका छन् । ओपिडी दैनिक बिहान ८ बजे देखी नै सञ्चालन गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । 
नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले पहिलो निर्णय गर्दै थप उपचारका लागि रेफर लिनुपर्ने बिरामीहरूले वडाबाटै रेफर लिन सक्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार रेफर लिन अस्पताल धाउने इटहरीवासीले अहिले वडाको स्वास्थ्य केन्द्रबाट नै रेफर लिन थालेका छन् । यसले अस्पतालमा हुने अनावश्यक भिड पनि हटेको छ । 
आधुनिक ल्याब र २४ घण्टा इमरजेन्सी 
itahari-aspatal-4-opdइटहरी अस्पतालले केही समय अघि देखि नै २४ सै घण्टा इमरजेन्सी सेवा दिइरहेको छ । १५ बेडबाट इमरजेन्सी सेवा दिइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अहिले दैनिक रूपमा इमरजेन्सीका बेडहरू खाली हुन पाउँदैन । बेड खाली नहुँदा आएका बिरामीहरूलाई अन्यत्र पठाउनुपर्ने देखिएको अस्पताल प्रशासनले जनाएको छ । अरू बेड थप्नुपर्ने तत्काल आवश्यक रहेको छ ।
नयाँ बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि बेड अभावमा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हट्ने इटहरी अस्पतालका स्वास्थ्य निरीक्षक दामोदर गौतमले बताए । 
विशेषज्ञ डाक्टरले जाँच गर्दै रोग परीक्षणका लागि विभिन्न टेस्ट गर्नलाई ल्याब सेवालाई पनि आधुनिक बनाइएको छ । ल्याबमा नयाँ मेसिन उपकरण थप गर्दै आधुनिक बनाइएको छ । अहिले दैनिक रूपमा मुटु, मिर्गौला, कलेजो, डायवेटिज, प्रोष्टेट, डेंगु, भिटामिन, थाईराईड सहित अन्य विभिन्न प्रकारका परीक्षण हुने गरेको छ । अस्पतालमा सुविधा सम्पन्न आधुनिक मेसिन जडान गरेपछि ल्याब परीक्षणमा सहजता आएको छ । 
अस्पतालमा भिटामिन, क्याल्सियम र थाईराईड जाँच सुरु भएपछि परीक्षण गराउने मानिसहरूको ठुलो भिड नै लाग्ने गरेको छ । पछिल्लो महिनामा ७ सय बढिले इटहरी अस्पतालमा थाईराईडको परीक्षण गरेका छन् । 
भिडियो एक्स-रे जडान गरेपछि बिरामी जाँच गर्न आएका बिरामीलाई बाहिर एक्स रे गर्न जानुपर्ने बाध्यता पनि हटेको छ । अहिले उपचारमा आएका १०० बढी बिरामीले एक्स रे गर्ने गरेका छन् । रेडियोलोजिष्ट मार्फत नै एक्स-रे हुने गरेको छ भने इसिजी गर्न अहिले छुट्टै कोठा व्यवस्था गरिएको छ । यो भन्दा अघि इसिजीका लागि छुट्टै कोठाको व्यवस्था थिएन।
रेडियोलोजिष्टद्वारा शनिवार बाहेक प्रत्येक दिन भिडियो एक्स-रे सेवा प्रदान गरिरहेको छ । दैनिक ७० बढी बिरामीले भिडियो एक्स-रेको सेवा लिइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । यो सँगै इसीजीका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ । 
डाईलासिस मेसिन र १ करोडको औषधी खरिद    
मिर्गौला पीडित बिरामीहरूले अब इटहरी अस्पतालमै डाईलासिस गर्न पाउने भएका छन् । रोटरी क्लब इटहरीले ६७ लाख रकममा डाईलासिस मेसिन खरिद गरी इटहरी अस्पताललाई प्रदान गरेको छ । 
अहिले मेसिन जडानको काम भइरहेको छ । अस्पतालमा डाईलासिस गर्नका लागि आवश्यक पर्ने कोठामा मेसिन जडानको काम भइरहेको छ । डाईलासिस सञ्चालन गर्नका लागि आवश्यक डाक्टर सहितका दक्ष जनशक्ति व्यवस्थापन गर्न इटहरी उपमहानगरपालिका, रोटरी क्लब र बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच त्रिपक्षीय एमओयु गर्ने तयारी भइरहेको रोटरी क्लबका सचिव चेतन धमलाले जानकारी दिए । मेसिन जडानसँगै बिपी प्रष्ठिानसँग एमओयु भएपछि सञ्चालन हुने सचिव धमलाले जानकारी दिए । 
इटहरी अस्पतालको अर्को ठुलो समस्या हो औषधी अभाव । नेपाल सरकारले ७० प्रकारका आषौधीहरु निःशुल्क उपलब्ध गराउने गरेको छ । तर यी औषधीहरू पर्याप्त नहुँदा इटहरी अस्पतालमा उपचार गर्न आएका बिरामीले चेकजाँच गरे पनि औषधी खरिद गर्न बाहिर निजी औषधी पसलमा जानुपर्ने बाध्यता थियो ।
औषधीको अभाव हटाउन इटहरी उपमहानगरले अहिले १ करोडको लागतमा औषधी खरिद गर्न टेण्डर प्रक्रिया सुरु गरेको छ । औषधी खरिदका लागि बजेट विनियोजन भई टेण्डर पनि आह्वान भएर स्वीकृत भएको भइसकेको छ । अब चाँडै नै इटहरी अस्पतालमा पर्याप्त औषधीहरू उपलब्ध हुने अस्पतालको विश्वास छ ।
itahari-aspatal-opd-2