इटहरी : इटहरी अस्पतालको सेवा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग माग गरिएको छ ।

इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी क्षेत्रको एक मात्र सरकारी स्वामित्वको इटहरी अस्पतालको सेवा स्तरोन्नति र सुदृढीकरणका लागि,सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष प्रदेश सांसद लिलम बस्नेतको नेतृत्वमा गएको डेलिगेसन टोलीले माग पत्र पेस गरेको हो ।

इटहरी अस्पतालको इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार आगामी आर्थिक वर्षको बजेटमा अस्पतालको अस्पतालको स्तरोन्नतीलार्ई समेट्न अनुरोध गरिएको छ । आगामी वर्षको बजेट डेढ करोड छुटाइदिन अनुरोध गरिएको छ । मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने बताएको अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र बरालले बताए ।

कोरोना सङ्क्रमणको अहिलेको अवस्थामा समेत इटहरी अस्पतालले कोभिड १९ को परीक्षण, फिभर क्लिनिक सञ्चालन, क्वारेनटाइन व्यवस्थापन,२४ घण्टा इमर्जेन्सी र प्रसूति सेवा लगायत स्वास्थ्य बिमा सेवाहरू निरन्तर दिई रहेको छ । बिरामीको चापलाई हेर्दा अस्पतालको स्तरोन्नति आवश्यक रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मनिषकुमार शर्माले बताए ।

डेलिगेसनमा प्रदेश सांसद लिलम बस्नेत, अस्पताल सचालक समिति अध्यक्ष भूपेन्द्र बराल, सञ्चालक समिति सदस्य सञ्जीव खड्का, अस्पतालको निमित्त सुपरिटेन्डेन्ट डा मनिषकुमार शर्मा र इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाको सहभागिता थियो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट इटहरी अस्पताललाई औजार उपकरण सहित ३० लाख बजेट उपलब्ध भएको थियो । इटहरी अस्पतालमा गत साउन १५ गतेदेखि २४ घण्टा इमरजेन्सी सेवा समेत सञ्चालनमा छ । इमरजेन्सी सेवाको सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा मन्त्री घिमिरेले इटहरी अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताएका थिए ।