इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी अस्पताललाई सुविधा सम्पन्न बनाईने बताएका छन् । नेतृत्व सँग योजना र संकल्प भए परिवर्तन सम्भव भएको बताउँदै उनले कर्मचारीलाई साथमा लिएर अस्पताललाई थप व्यवस्थीत बनाइने बताए । 
इटहरी अस्पतालको तेस्रो बार्षीकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर पौडेलले गुणस्तरीय अस्पतालको अभाव झेलीरहेको इटहरीलाई सुविधा सम्पन्न अस्पतालको आवश्यकता रहेको औल्याए। निमार्णाधिन १५ शैयाको अस्पताल भवन देखाउँदै उनले त्यस भित्रको व्यवस्थापनको पक्षमा ध्यान दिइने प्रष्ट पारे । कानुन अभावको ठुलो अस्पताल निर्माण गर्न नसकेपनि भएको श्रोत, साधन र जनशक्तीको भरपुर उपयोग गरिने प्रतिवद्धता व्यक्त गरे । 
निर्वतमान मेयर द्वारिकलाल चौधरी समेत उपस्थित कार्यक्रममा अघिल्लो नेतृत्वले गर्न बाँकि रहेको योजना सफल बनाउने मेयर पौडेलले बाचा गरेका छन् । स्वास्थ्य सेवालाई व्यवस्थीत गर्न अस्पताल प्रशासन सँगै कर्मचारीको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्दै उनले दलको आधारमा नभएर क्षमता र योग्यताको आधारमा कर्मचारीको मुल्याङ्कन हुने प्रष्ट पारे । 
५ बर्ष भित्र इटहरी सहरको गुरुयोजना तयार पार्ने र समृद्धीको मार्ग कोर्ने उनको संकल्प छ । "नागरिकको भावनालाई नजोडी विकाश र परिवर्तन सम्भव छैन । अघिल्लो नेतृत्वले कानुनको अभावका बाबजुद पनि केही राम्रो सुरुवात गरेको छ । अब हाम्रो काधमा इटहरीलाई कस्तो बनाउने भन्ने जिम्मेवारी आएको छ । त्यसको लागी म लगायत सम्पुर्ण जनप्रतिनिधिहरु गम्भीर भएर लागी रहेका छौँ,” उनले भने ।
इटहरी अस्पतालबाट पछिल्लो समय सेवा लिनेको संख्या बढ्दै गएको निमिक्त अस्पताल प्रमुख डाक्टर योगेश चेम्जोङले बताए । गत आर्थीक बर्षमा मात्र १ लाख २ हजार १४५ जनाले सेवा लिएको उनले बताए । हासपोसा, खनार, पकली र एकम्बामा पनि सेवा विस्तार गरिएकाले जनताले सेवा पाउन सहज भएको उनको भनाई छ । 

२४ सै घण्टा एम्बुलेन्स, अल्ट्रासाउण्ड, भिडियो एक्स्रे, इमरजेन्सी सेवा र फार्मेसी सेवा उपलब्ध गराउँदै आएको उनले सुनाए । २ जना विषेशज्ञ डाक्टर सहित हाल ६२ जना कर्मचारीले अस्पतालको सेवा प्रवाह भइरहेको डाक्टर चेम्जोङले बताए । सिमित जनशक्तीले धेरै सेवा प्रवाह नर्गुपर्ने भएकाले समस्या भएको उनको भनाई छ ।