धरान : स्थित पब्लिक हाई स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झा, सुनसरीकै शैक्षिक क्षेत्रमा परिचित छन् । पब्लिक हाई स्कुललाई देशकै नमुना विद्यालय मध्ये एक बनाउनमा झाको समन्वयकारी भूमिका छ । २०४८ देखी शिक्षण पेशामा लागेका झा २०५० देखी नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घमा सक्रिय रहँदै आएका छन् ।
झाले यसअघि नै सङ्घको जिल्ला कार्य समिति सदस्य, कोषाध्यक्ष हुँदै सचिवको भूमिका निर्वाह गरिसकेका छन् । उनी २०७३ मा सङ्घको आठौँ अधिवेशनमा वर्तमान अध्यक्ष वेणु सिग्देल सँग झिनो मतान्तरले पराजित भएका थिए । यसपालि चैत ४ गते हुने सङ्घको नवौँ अधिवेशनमा झा सशक्त उम्मेदवारका रूपमा अघि आएका छन् । झा सँगको गरिएको कुराकानी :
  • निर्वाचनको तयारी कस्तो छ ?
नब्बे प्रतिशत तयारी पूरा भएको छ । म लगायत मेरो प्यानल नै जोडतोडका साथ लागि परेका छौ । शिक्षक सङ्घमा आबद्ध जिल्लाभर घुमेर शिक्षक साथीहरूलाई भेट गरी हाम्रो एजेन्डाको बारेमा जानकारी गराई रहेका छौ । चुनावको लागि हामी पूर्ण रूपमा तयार छौ ।
  • पब्लिक हाई स्कुललाई कुशल नेतृत्व प्रदान गरी रहनु भएको छ, सङ्घको अध्यक्षमा उम्मेदवारी किन ?
सुनसरी जिल्लाको शिक्षामा रूपान्तरण गर्नका लागि म र मेरो प्यानलको उम्मेदवारी हो । परिवर्तन पब्लिक हाई स्कुललाई मात्र गरेर भएन । अहिलेको बदलिँदो समय अनुसार शिक्षामा व्यापक परिवर्तन ल्याउनु अत्यन्तै जरुरी छ । त्यही परिवर्तन ल्याउन नै इन्द्रमोहन झा सहितको प्यानलको उम्मेदवारी हो ।
  • तपाईँको नेतृत्वमा प्यानल उम्मेदवारको नामहरू पाउँ न ?
अध्यक्षमा म इन्द्रमोहन झा । महिला उपाध्यक्ष इटहरीबाट चण्डिका बास्तोला निरौला, पुरुष उपाध्यक्ष  देवानगन्जबाट कपिलदेव मेहता,  सचिव भोक्राह–नरसिंहबाट मनोज पोख्रेल, पुरुषतर्फ अर्थ सचिव गढिबाट चन्द्रनारायण चौधरी र महिलातर्फ अर्थ सचिव इनरुवाबाट रेखा मेहताको उम्मेदवारी रहेको छ ।
यसै गरी सहसचिव खुल्ला पुरुषतर्फ धरानबाट बालकृष्ण चौलागाई, सहसचिव महिलातर्फ वराहक्षेत्रबाट सरिता नेपाल, सहसचिव समावेशीमा भोक्राह–नरसिबाट परमेश्वर मेहता र महानन्द साह सहित प्यान  उम्मेदवारी छ । हाम्रो प्यानल भौगोलिक र समावेशिता मिलेको छ ।  
  • आफ्नो प्यानलको जितप्रति कतिको विश्वस्त हुनुहुन्छ ?
हामी ९९ प्रतिशत विश्वस्त छौ । हामी सँग एजेन्डा छन् । वर्तमान नेतृत्वले सबै पक्षलाई मिलाएर लान सकेन । नेपाल शिक्षक सङ्घको कार्यकाल ४ वर्षको हुन्छ । तर वर्तमान नेतृत्वले विभिन्न बहानामा ७ वर्षसम्म झुलाएर बिताएको छ । अहिले सम्म नेतृत्वको कुनै नयाँ भिजन देखिएन । म उहाँको निकटतम प्रतिद्वन्दि थिएँ । तर अहिलेसम्म कुनै प्रकारको समन्वय र सहकार्य गर्नु भएन । अब त उहाँ यहाँ भन्दा माथि जाने हो । अरूलाई मिलाएर लाने हो । तर फेरि पनि उहाँले उम्मेदवारी दिएर पदलोलुपता देखाउनु भएको छ । वर्तमान नेतृत्व बाट परिवर्तन सम्भव छैन । शिक्षकहरूले परिवर्तन चाहेका छन् । त्यसैले जिल्लाभर सङ्घमा आबद्ध साथीहरूले परिवर्तनको संवाहक मेरो प्यानललाई विजय गराउनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
  • तपाईँका खास एजेन्डाहरु के के छन् ?
सबैभन्दा पहिलो कुरा मुलुकमा सङ्घीयता आएको छ । सङ्घीयताको अर्थ के हो त ? हिजोका दिनमा हामी सबै काम जिल्लामा गराउँथ्यौ । अब सम्पूर्ण काम स्थानिय तहमा हुन्छ । स्थानिय तहमा शिक्षकले अधिकार पाउनका लागि शिक्षा समितिमा शिक्षक महासङ्घको प्रतिनिधिको भूमिका रहन्छ । तर वर्तमान नेतृत्वले शिक्षक महासङ्घ गठन गर्न सकेन । 
जहाँ पनि म आफै गई हाल्छु । मैले शिक्षक महासङ्घ किन गठन गर्ने ? भनेर नेतृत्वलाई भ्रम थियो । सुनसरीका १२ वटै पालिकामा शिक्षक साथीहरूलाई धेरै अप्ठेरो परेको छ । शिक्षकहरूले आफ्ना माग पूरा गर्नको लागि सम्बन्धित ठाउँमा भन्न सकिरहनु भएको छैन । किनभने त्यसका लागि आधिकारिकता  छैन । शिक्षा समितिमा शिक्षक महासङ्घका प्रतिनिधिहरू भए पछि शिक्षकका समस्याहरू लगेर समाधानका लागि पहल गर्न सकिन्छ । 
तर वर्तमान नेतृत्वले त्यो काम गर्न सकेन । त्यसकारण मेरो पहिलो एजेन्डा शिक्षक महासङ्घ गठन गर्न पहल हुनेछ । शिक्षक महासङ्घ गठन भएपछि शिक्षकका ५० प्रतिशत समस्या समाधान हुन्छ । महासङ्घका प्रतिनिधि मार्फत समस्या शिक्षा समिति र कार्यपालिकामा पुर्‍याउन सजिलो हुन्छ । त्यस कारण शिक्षक महासङ्घ गठन हुनु जरुरी छ । दोस्रो कुरा अझै पनि विभिन्न ठाउँमा शिक्षकहरूले समयमा तलब पाइरहेका छैनन् । शिक्षकहरूले प्रत्येक महिना समयमै तलब खान पाउनुपर्छ । यसका लागि म पहल गर्नेछु । म बोलीमा हैन व्यवहारमा परिवर्तन ल्याउन चाहन्छु ।
  • पब्लिक जस्तो नमुना विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ, शिक्षक सङ्घमा समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
प्रश्न उठ्नु स्वभाबिक हो । विद्यार्थी कम वा बढी भएको कुनै पनि विद्यालयमा उति नै काम गर्नुपर्छ । तर बढी विद्यार्थी भएको विद्यालयमा जिम्मेवारी बाँडफाँड गर्नु पर्दछ । म आफै प्रधानाध्यापक रहेको पब्लिक हाई स्कुलमा मैले प्री प्राइमरी, प्राइमरी, एकेडेमी, भौतिक कुरा, अभिभावक काउन्सिलिङ, यातायात, लेखा सहित सबै कामहरूको जिम्मेवारी बाँडफाँड गरेर दिएको छु । विद्यालय सिस्टमले चलेको छ । नेतृत्वले निर्णय लिन सक्नुपर्छ र जिम्मेवारी दिएकालाई राम्ररी परिचालन गर्न सक्नुपर्छ ।
जसरी मैले स्कुलमा एउटा सिस्टम बसाएको छु । त्यसै गरी त्यो अनुभवले सङ्घको नेतृत्वमा रहँदा १२ वटै पालिकामा टिम बनाई परिचालन गर्ने व्यवस्था मिलाउँछु । स्कुल टाइममा स्कुललाई टाइम दिनु पर्दछ । बाकि समय सङ्घलाई दिएर राम्रो तारतम्य मिलाई दुवै कामलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।
  • अन्त्यमा केही छुटेका कुरा छन् ?
जिल्ला भरी रहनु भएका सङ्घमा आबद्ध अग्रज शिक्षक र शिक्षक शिक्षिका साथीहरूलाई म सहितको हाम्रो सम्पूर्ण प्यानललाई आफ्नो अमूल्य मत दिएर अत्यधिक बहुमतले विजय गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु । जो सङ्घमा आबद्ध हुनुहुन्न उहाँहरूलाई पनि आफ्ना आफन्त, साथीभाइ सबैलाई अध्यक्षमा इन्द्रमोहन झा सहितको प्यानललाई विजय गराउन पहल गरिदिनु हुन अनुरोध गर्दछु ।