कोशी प्रदेशका मध्य पहाडी क्षेत्रका बजारमध्ये सबैभन्दा चलायमान छ खाँदबारी । सङ्खुवासभाको सदरमुकाम खाँदबारी व्यापारिक केन्द्रको रूपमा स्थापित छ । भारत र चीन जोड्ने जोगवनी-किमाथांका सडक सञ्चालन भएपछि झनै व्यापारिक गति बढ्ने अनुमान गरिएको छ । अरुण तेस्रो जलविद्युत आयोजना लगायत सङ्खुवासभा र भोजपुरमा सञ्चालनमा आउने क्रममा रहेका जलविद्युत आयोजनाको कारण खाँदबारीको ओज बढेको देखिन्छ । तथापि खाँदबारीले आफ्नो गरिमा र गतिलाई पुँजीकृत गर्ने चुनौतीको सामना गरिरहेको छ । हस्पीटालीटी र सरसफाइको हिसाबमा खासै प्रतिफल दिन सकेको छैन । आगामी दिनमा खाँदबारी नगरपालिकाको आन्तरिक आम्दानी, सरसफाइको योजना तथा व्यापारिक गतिविधिको लागि मेयर महेश थपलिया सँग कपुरीकर्मी विनय बाह्रकोटीले गरेको कुराकानी ।

मेयर निर्वाचित हुनु अगाडी र निर्वाचित भएपछि के फरकपन महसुस गर्नुभयो ?  

जिम्मेवारी र व्यस्तताको हिसाबमा फरक भएको हो । मेरो जनता सँगको सम्बन्ध र जीवनशैलीमा भने कुनै फरक भएको छैन । जनतालाई दिएको बाचा पुरा गर्नेतिर लागेका छौँ । गुणस्तरीय शिक्षा पद्धति विकाश गर्ने र सिपयुक्त शिक्षाको प्रमुख योजना हुन् । सुत्केरी र अपाङ्ग भत्ताको व्यवस्था भएको छ । वडाबाटै भत्ता उपलब्ध गराउनुपर्ने भएको छ । भौगोलिक हिसाबमा ठुलो नगरपालिका भएकाले भेटेरिनरीको सेवा वडामै उपलब्ध गराउने गरेका छौँ । पशु पालक कृषकलाई हौसला प्रदान गर्न धेरै प्रयास गरेका छौँ ।

धेरै पालिका प्रमुखहरूले कर्मचारीतन्त्रको कारण काम गर्न समस्या भएको आरोप लगाएको पाइन्छ । तपाईँलाई पनि त्यस्तै लाग्छ की ! के छ अवस्था ?

खाँदबारी नगरपालिकामा त्यस्तो समस्या छैन । मुख्यतः आर्थिक हिसाबबाटै नगरपालिका समस्यामा छ । आन्तरिक आम्दानीका भरपर्दा श्रोत नहुनु चाहिँ समस्या हो । नगरपालिकाका सम्पूर्ण सेवा सुविधा बढाउन मसँग हुटहुटी छ । सबै जनप्रतिनिधि र कर्मचारीको साथ पाएको छु । 

चार वर्ष पछिको खाँदबारी कस्तो होला ? 

म सँग योजना छन् । कार्यान्वयन गर्ने चुनौती पनि छ । औद्योगिक ग्राम बनाउनको लागि काम सुरु गरेको छु । ३ सय रोपनी जग्गामा औद्योगिक क्षेत्र बनाउने योजना छ । जसले गर्दा रोजगारी र उत्पादनमा वृद्धि हुन्छ । खाँदवारिमै बन्दरगाह बनाउने गरी काम भएको छ । किमाथांङका नाका खोल्ने क्रम जारी रहेकोले बन्दरगाह आवश्यक देखिएको छ । 

सूचना केन्द्र स्थापना गरेर जिल्ला भरि आउने जाने पर्यटकको लागि सूचना उपलब्ध हुने गरी काम भइरहेको छ । मुख्यतः कल्चर र एडभेन्चर टुरिजमको क्षेत्रमा काम गर्ने हो । माउन्टेनियरिङ एडभेन्चरमा हामीले ध्यान दिनुपर्ने भएको छ । सभापोखरी र शिवधारा जोड्ने काम भएको भएको छ । मकालु हिमालको प्रचार गर्नु छ । ४ वर्षपछि अहिलेको भन्दा धेरै गुलजार हुन्छ खाँदबारी ।

Mayor-Khandbariआम्दानी छैन भन्नुभयो, आन्तरिक आम्दानी बढाउन के गर्दै हुनुहुन्छ ? 

हाम्रो नगरपालिकाका धेरै कृषियोग्य भूमि छन् । जमिन बाँझो नराखौँ भनेर अभियान नै चलाएका छौँ । किसानको काम उत्पादन गर्ने हो । बजारीकरणको जिम्मा नगरपालिकाले लिनुपर्ने भएको छ । त्यसको लागि काम गर्दै छौँ । 

सवारी साधनमा डाइरेक्ट कर लगाउन नपाइने भएकाले सरसफाइ शुल्क लिएका छौ । यसले केही टेवा पुर्‍याउला भन्ने छ । निकासी करमा पनि हामी लागिपर्ने भएका छौँ । जलविद्युत्तको उत्पादन बढ्दै गएको कारण सबस्टेसनको लागि प्रति मेगावाट ५० हजार दिनुपर्छ भनेर माग राखेका छौँ । जुन यसैबर्ष देखी कार्यान्वयनमा आउँदैछ । त्यस बाहेक मैले अघि भनेजस्तै पर्यटन देखी औद्योगिक विकाशबाट नै आम्दानी बढाउने हो । 

खाँदबारीको व्यापारिक गरिमा कायम राख्न र थप बढाउन के गर्नुहुन्छ ? 

यसमा हामी उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर काम गरिरहेका छौँ । खाँदबारी आएका आगन्तुकलाई दुई चार दिन बस्न सक्ने अवस्था सृजना गराउनुपर्छ । सुख्खा बन्दरगाहको कुरा छदै छ । रुद्राक्ष, अल्लो देखी अलौचीको व्यापारलाई बढाउने केन्द्र बनाउनु पर्नेछ ।  

खानेपानी समस्या बढ्ने देखिन्छ । सहज आपूर्तिको योजना केही बनाउनु भएको छ ? 

खानेपानीको लागि पुराना पाइपहरू सडक संरचना बनाउँदा भत्किएका छन् । अरुण तेस्रोको लागि सडक निर्माण हुँदा धेरै खानेपानी आयोजना प्रभावित भए। नगरपालिका अहिले खानेपानी समस्या समाधानको लागि लागिरहेको छ । पानीका श्रोत खोज्ने र एकद्वार प्रणालीबाट वितरण गर्नेगरि योजना बनाएको छ । लिफ्टीङ गरेर पानी ल्याउनको लागि काम सुरु भएको छ । चेवाबेसीबाट पनि पानी ल्याउने काम भइरहेको छ । मुहान किनेर पानीको व्यवस्थापन  गरिरहेका छौँ । केही समय पछि खानेपानीको कुनै समस्या हुँदैन । 

खाँदबारी आउनुपर्ने बाध्यता बनाउन केही आकर्षक योजना त चाहियो होला नि ! व्यापारी र स्थानीय बाहेकले खाँदबारी किन आउने ?  

यो प्रश्न मेरो मनमा पनि छ । खाँदबारीको आकर्षण बढाउन के के गर्न सकिन्छ गर्ने हो । योजना बोकेर हिँडेको छु । हेरौँ कत्तिको कार्यान्वयन गर्न सक्छु ।

बजार प्रवेश गर्ने बित्तिकै हरियाली र फूलबारी बनाउनु छ । त्यसको लागि काम पनि गरेको छु । धेरै बिरुवा वितरण गरियो । बजारमा हरेक हिसाबमा सौन्दर्य बढाउने काम सुरु भएको छ तर पर्याप्त भएन । हामीले बिरुवा र फुललाई कसरी संरक्षण गर्ने भनेर चेतना बढाउनुपर्ने भयो । कौसी र सडकमा फुल रोप्ने संस्कार बढाउन जरुरी छ । मेरो जिम्मेवारी त्यो चेतना बढाउने हो । खाँदबारी भित्रिएका आगन्तुकले यहाँको संस्कार र सरसफाइ हेरेर केही दिन बस्न सक्ने अवस्था बनाउनुपर्छ । फुल रोप्नेलाई पुरस्कार दिने व्यवस्था मिलाएको थिएँ । तर त्यो संस्कार बसाउन सकिएन । तर म थाकेको छैन खाँदबारी सफा सुन्दर र व्यवस्थित बनाउन लागिपर्छु । बनाएरै छाड्छु ।