- अनुसा थापा
दशैं नेपालीको महान् चाड । दशैं मनाउन सहरबाट अधिकांश आफ्नो थातथलो फर्किन्छन् । काठमाण्डौं उपत्यकाबाट मात्रै वर्षेनि २५ देखि २८ लाख सर्वसाधारण घर फर्किने गरेका छन् । यसपालिको दशैंमा भने यो सङ्ख्यामा कमी आएको छ । हालसम्म झन्डै १५ लाखले मात्रै उपत्यका छोडेका छन् । यो कुराले दुई वटा सङ्केत गरेको छ । पहिलो : कतिपय महँगी, बेरोजगारीका कारण पहिल्यै गाउँ फर्किए ।
दोस्रो: कतिपय पैसा नभएपछि गाउँ नै गएनन् । काम गरेको ठाउँमा तलब नपाएकाहरू दशैं मान्न गाउँघर फर्किएनन् । अधिकांश निजी कार्यालयले यो वर्ष पेश्की कटौती गरेको छ । तलब दिए पनि पेस्की दिएनन् । कतिपय संस्थाले त तलब नै दिएनन् । आर्थिक मन्दीका कारण तलब र पेश्की दिन नसकेको भन्दै साहुहरू पन्छिएका छन् । अधिकांश कार्यालयले आर्थिक मन्दी भनेर पेश्की कटौती गरेको छ।
तलब र पेश्की नपाएकाहरूको दशैं खल्लो भएको छ । गाउँघर त जान पाएनन्, यहाँ बसेर पनि दशैं मान्न नसकेको अवस्था छ । न एक जोर लुगा किन्न सकेँ न एक छाक मिठो मसिना नै खान पाए । चाडबाड आए-नआएको केही फरक परेको छैन । सर्वसाधारण आर्थिक मन्दीबाट गुज्रिरहँदा जनप्रतिनिधिहरूले तलब पनि लिए, पेस्की पनि लिए । वडाध्यक्ष, मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिदेखि लिएर भूपूसम्मले तलब र पेस्की पाए ।
देशलाई मन्दी भयो । जनतालाई मन्दीले छोयो । तर, राज्य सञ्चालक र सरकारी कर्मचारीहरूलाई मन्दीको असर परेन । आश्चर्य लाग्ने कुरा त के छ भने जसले कर तिर्छ, उसलाई मन्दीले असर पार्यो । ऊ घर फर्किन सकेन । दशैं मनाउन उसले सकेको छैन । देशको सेवा गर्छु, सार्वजनिक काम गर्छु भन्नेले चाहिँ तलब र पेस्की दुवै पाए । राज्यको ढुकुटी रित्तिइसकेको छ भन्ने कुरा सबैलाई थाहा छ ।
तैपनि, सरकारले तलब र पेस्की दियो, कसरी ? विदेशीसँग हात थापेर । अन्य मुलुकबाट ऋण ल्याएर सरकारले तलब र पेस्की दिएको हो । जनताको आवाज हुँ भनेर कराउँदै हिँड्ने रवि लामिछाने र ज्ञानेन्द्र शाहीको पनि असली रूप बाहिर आएको छ । के-के गर्छ भनेर चितवन निर्वाचन क्षेत्र नम्बर २ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई चुनाव जिताए ।
शाही पनि जुम्लाबाट निर्वाचित भएर आए । चुनावको बेलामा यिनीहरूले जनताको दुःखमा साथ दिन्छौँ भनेर ठूल्ठूला कुरा गरेका थिए । तर, अन्य राजनीतिक दलका नेता र यिनीहरूमा के नै फरक देखियो र ? सरकारी गाडी चढेँ, तलब भत्ता बुझेँ । अब अहिले दशैं पेस्की पनि लिए । जनताले दशैं मनाउन सकेका छन् कि छैनन्, यिनीहरूले फर्किएर हेरे ? हेरेनन् ।
जनतालाई झुक्काउने काम भएको छ । रास्वपाका २१ जना सांसदले अब जनतासँग माफी माग्नुपर्छ । नैतिकता छ भने पद त्याग्नुपर्छ । हिजो चुनावअघि बोलेका कुरा त पूरा गर्नुपर्यो नि । उनीहरूले भोट माग्ने बेलामा सरकारी सेवा सुविधा लिँदैनौँ, आफ्नो घरको खाएर जनताको सेवा गछौं, देश विदेश घुम्दैनौँ, जनताको सुख दुःखमा साथ दिन्छौँ भन्ने त उनीहरू नै थिए ।
राज्यबाट पाउने सेवा सुविधाबाट एक रुपैयाँ पनि नलिने भनेर आश्वासन दिने त यिनीहरू नै हुन् । तर, यिनीहरूले केचाहिँ छोडे ? तलब लिएका छन्, सरकारी गाडी चढेका छन्, घर भाडा बुझेका छन्, स्वकीय सचिव राखेका छन् । राप्रपाका सांसदहरू राष्ट्रियताको ठूल्ठूला कुरा गर्छन् । १४ जना राप्रपाका सांसदले राज्यबाट पाउनुपर्ने सबै सेवा सुविधा लिएका छन् । देशको महिमा गाउने यिनीहरूलाई विदेशीबाट हात थापेर ल्याएको पैसाले सेवा सुविधा लिन लाज लागेन ?
मुलुक र जनताको नाममा खान आएकाहरूको असली रूप देखि हालियो । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मुखमा जति बेला पनि देश र जनताको नाम झुण्डिराखेको हुन्छ । तर, उनलाई देश र जनताको कति माया रहेछ ? भन्ने त पुष्टि भइसकेको छ । देश धितो राखेर ल्याएको पैसाबाट उनले पनि सेवा सुविधा लिएकै छन् । अनि यो ‘गोहीको आँसु झारेर’ जनतालाई कतिन्जेल झुक्काउने ?
यिनीहरूले दिउँसै रात पारेर देश लुछेर खाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि एक नम्बरका ‘ड्रयाम्याटिक’ नेता हुन् । आफूलाई त्यागी नेता देखाउनका लागि उनले केसम्म गरेनन् ? कहिले ट्याम्पो चढे त कहिले माइक्रो बसबाट लडेँ । कहिले एउटै कोठामा २१ वर्ष बसेको भनेर चर्चामा आए । उनको यो ‘स्टन्टबाजी’ पनि सांसद नभएसम्मका लागि रहेको भन्ने पुष्टि भइसकेको छ।
उनले पनि राज्यबाट पाउनुपर्ने सबै सेवा सुविधा लिएका छन् । नेमकिपाबाट सांसद प्रेम सुवाल जहिले पनि सदनमा उभिएर विरोध मात्रै गरिरहेका हुन्छन् । विरोध गर्नमा उनी अग्रसर छन् । त्यसै गरी विदेशीबाट ऋण ल्याएको पैसाबाट तलब भत्ता र सेवा सुविधा लिँदिन भन्नलाई अग्रसर भइदिए हुने थियो । सरकारबाट पाउनुपर्नेमध्ये एक रुपैयाँ पनि छोडेका होइनन् । मधेसी दलहरू पनि त्यस्तै । नागरिक उन्मुक्ति पार्टी पनि त्यही लिष्टमा जोडिन्छ । जुनसुकै पार्टीका सांसद हुन्, सबै एउटै ‘ड्याङ्गका मुला’ हुन् । सबैको सिद्धान्त र विचार एउटै छ,‘देशलाई लुटेर खाने ।’
देश सकियोस् तर तलब भत्ता र सेवा सुविधा चाहिँ पाउनुपर्यो । माओवादीको त झनै कुरै नगरौँ । खसीको टाउको देखाएर बाख्राको मासु बेच्यो भन्ने माओवादी नै हो । देश राजा, काँग्रेस र एमालेले सकायो । जनतामाथि शोषण गर्यो । देश विदेशीलाई बेच्यो भनेर हतियार उठाउने माओवादी पनि आज उही लिष्टमा समावेश भएको छ । देश र जनताका लागि के-के न गर्छौँ भनेर माओवादीले १७ हजार नेपाली मार्यो ।
देशमा परिवर्तन खोज्ने माओवादीबाट जनताले के परिवर्तन पाए ? माओवादीका सांसद र अन्य पार्टीका सांसदमा के फरक छ ? अहिले मुलुकको प्रधानमन्त्री माओवादीका अध्यक्ष हुन् । उनले तलब भत्ता, सेवा सुविधा र पेस्की त्याग्न सके ? माओवादीले जनताका लागि होइन, आफ्नो व्यक्तिगत स्वार्थका लागि हतियार उठाएको थियो । माओवादीको पछाडि लाग्दा जनता ‘बलिको बोको’ मात्रै भए ।
त्यत्रा नेपालीको रगत चुहाएर माओवादीले मोज मस्ती गरेको छ । एमालेमा कोचाहिँ राम्रो सिद्धान्त र विचार भएको नेता छ ? मदन भण्डारी र मनमोहन अधिकारी मरिहालेँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कुरै नगरौँ । एमालेमा नेता होइन, गुन्डाहरूको रजगज छ । एमालेमा नेताको विचारधारा भएको एउटा व्यक्ति पनि छैन । दलालीले चलाएको पार्टी कुन ? भनेर सोध्यो भने एमालेको नाम आउँछ ।काँग्रेस त पहिल्यैदेखि धनाढ्यहरूको पार्टी । देश र जनताका लागि काम गर्ने कृष्णप्रसाद भट्टराई र प्रदीप गिरी मरिहाले । अहिले काँग्रेसमा जनताको हितमा काम गर्ने र देश जोगाउने कोही पनि छैनन् । पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुको इशारामा चलेका छन् । डा.शेखर कोइराला भन्नलाई काँग्रेस हुन् तर एमालेको शरणमा पुगेका छन् । पदमा लोभिएकाहरूलाई देश र जनताको कुनै मतलब नै छैन ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बैङ्कका कर्मचारी हुन् । बैङ्कका कर्मचारीको स्वभावबाट सबै परिचित नै छन् । कहाँबाट नाफा हुन्छ ? कसरी ठगेर खान पाइन्छ भन्नेतिर बैङ्कका कर्मचारीहरूले दिमाग दौडाइरहेका हुन्छन् । अब उनीबाट त झन् के आस गर्नु । जनताले अलिक राम्रो ठानेका बाबुराम भट्टराईले राजनीतिबाट संन्यास लिइहाले ।
देशमा यत्रा सांसद छन् । सरकारलाई घच्घचाउनुपर्ने सांसदहरू आफैँ लुटेरा खान पल्केपछि कसरी देश उँभो लाग्छ ? २४ खर्ब विदेशी ऋण लागिसकेको छ । यस्तै पारा रह्यो भने नेपाली हो भन्न पनि नपाइएला । त्यसैले अब त सुध्रियौँ । अझैँ पनि देश र जनताका लागि काम गर्छौँ भनेर गीत गाउने हो कि ? अब जनता पनि यिनीहरूको गीतको पछाडि नलागौँ ।
भक्तपुर