धरान : प्रधानमन्त्री पुष्पकमल दाहालले महानवमी पर्वको अवसरमा आज देश, विदेशमा रहेका नेपालीहरूमा विजया दशमीको शुभकामना सन्देश दिदैं ‘हाम्रा मौलिक पर्वहरूभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै त्यस भित्र विद्यमान रुढीवाद, अन्धविश्वास, भड्किनले चिन्तन र जीवन पद्धतिमा समयानुकूल परिवर्तन आवश्यक रहेको’ उल्लेख गरेका छन् ।

पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, संस्कृति र पर्वहरूका दृष्टिले हामी वैभवशाली र गौरवशाली रहको उल्लेख गर्दै प्रधानमन्त्रीले शुभकामना सन्देशमा हामी नेपालीले विशिष्टता र मौलिकताको संवर्द्धन एवं विकास गरेर ज्ञानबिज्ञान, सभ्यता र संस्कृतिको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ भनिएको छ ।

लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिहरूको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास जनताका अपेक्षाहरू पुरा गर्नुपर्ने ठुलो चुनौती सामुन्ने भएको उल्लेख गर्दै शुभकामना सन्देशमा भनिएको छ ‘यतिखेर हामी अवसर र चुनौतीको कठिन परीक्षाबाट गुज्रिरहेका छौँ।’

शुभकामना सन्देशमा भनिएको छ ‘जात, वर्ग, धर्म लिङ्ग वर्ण, भूगोल, आस्था सम्प्रदायको सोचबाट माथि उठेर ‘गरे हुन्छ परिवर्तन सम्भव छ’ भन्ने सामूहिक र सकारात्मक चिन्तनको विकास अहिलेको आवश्यकता हो ।’

prachanda-shubhakana-new