विराटनगर : फूलपातीका दिन ट्राफिक चोकको एउटा पसल छेउ कृष्ण यादव झोक्राएर बसेका थिए । दशैंको सातौँ दिन सम्म पनि व्यापार बट्टा नभएपछि उनी निराश भएर झोक्राएका रहेछन् ।

सिराहा-३ घर भएका ५६ वर्षीय यादवले ट्राफिक चोकमा कपडाको पसल खोलेर बसेका २२ वर्ष भयो । उनले भने ‘फूलपातीको दिन सम्म पनि व्यापार चलेको छैन, विराटनगर बजार सुनसान छ ।’ अन्य वर्षमा घटस्थापना अघिदेखि नै पसलमा भिडभाड लाग्ने गरेको उनी बताउँछन् ।

नजिकै मनोज दासको लत्ताकपडाको फेन्सी पसल छ । उनले ट्राफिक चोकमै ‘शुभम् फेसन वेर’ पसल चलाएको पनि वषौं भयो । शनिवार बिहान पसलमा भेटिएका दास फूलपातीको दिन निकै फुर्सदिला देखिए ।

‘अब त दसैँ लागेन र ?’ भन्ने प्रश्नमा उनले भने ‘अरु बेला दशैंको १०/१५ दिन अघिदेखि नै व्यापार सुरु हुन्थ्यो, अहिले फूलपाती आइसक्यो तर ग्राहक नै छैन ।’ विराटनगरका बजार सुनसान रहँदा सीमावर्ती भारतीय जोगबनी बजारमा भने रमझम निक्कै बढेको उनले बताए ।

अनलाइन व्यापारले पनि सामानको मूल्य बिगारिदिएको उनको भनाई छ । भने ‘सस्तो दामको लोभले टिकटक-फेसबुकमा देखेको सामानतिर ग्राहक तानिएका छन् ।’

क्वलिटी र ब्रान्ड हिजोआज हेर्न छाडेको उनी बताउँछन् । अनलाइनबाट सामान हेर्ने अनि पसलमा आएर दाम तुलना गरेर अनलाइनबाटै खरिद गर्ने प्रवृत्ति बढेका उनले बताए ।

कोरोना महामारी अघिका वर्षहरूमा यति बेला निकै व्यस्त हुने जुत्ता पसलमा फाटफुट्ट मात्रै ग्राहक आउने गरेको हैदर खान बताउँछन् । ट्राफिक चोकबाट जलजला छिर्ने मुखैमा खानको ‘नेपाल बुट हाउस’ पसल छ ।

कोरोनाका कारण मानिसको किनमेल शैलीमा परिवर्तन देखिएको उनको बुझाइ छ । उनले भने ‘अहिले ग्राहकसँग पैसा छैन । महँगी पनि उत्तिकै बढिरहेको छ ।’ धेरै मानिसको पैसा सहकारीहरूमा फसेको छ । थप आर्थिक मन्दीको बेला बजार सुनसान हुनु सामान्य भएको उनी ठान्छन् ।

विराटनगर बजारलाई जोगबनीले प्रभाव पार्दा महानगरपालिका मौन छ । विराटनगरका व्यवसायीको समस्या कसैले नसुनेको खानले गुनासो गरे ।

जुत्ता किन्न आएका विराटनगरका परशुराम दाहालले जोगबनीमा सस्तोमा सामान पाइने भएकाले धेरै सामान किन्नु परे जोगबनी बजार जाने गरेको बताए । उनले भने ‘मलाई जोगबनी जान मन लाग्दैन, जुत्ता कपडा विराटनगरबाटै किन्छु, तर जोगबनीमा दाल, चिनी, मरमसला सस्तो भएकोले त्यहीँबाट किन्ने गरेको छु ।’

पहिले दशैंको अघिल्लो दिनसम्म पनि व्यापारीहरूले फुर्सद पाउँदैन थिए । तर अहिले दशैंमा फुर्सदिलो बन्न परेकोमा कपडा व्यापारी लालबाबुले दिक्दार लागेको बताए । अर्को पसलतिर देखाउँदै भने ‘उ त्यो पसलको साहुजी अर्को पसलमा गएर गफ हान्दै हुनुहुन्छ, म पनि दिनभरि गफै गरेर बसिरहेको छु ।’

सरकारले जोगबनी बजारलाई कडाइ गरे विराटनगर बजारमा व्यापार बढ्ने उनको भनाई छ । 

dashain byapar brt 3Dashain byapar brt 2