धरान : अहिले सम्म धरानको विकासमा सबै भन्दा ठुलो मुख्यवाधा खानेपानी समस्या नै विषय विद्यमान रहेकोले यसतर्फ स्थानीय सरकार गम्भीर भएर लाग्न जरुरी भएकोमा सुनसरी उद्योग वाणिज्य सङ्घको ४० ओं साधारण सभा उद्घाटन समारोहका सहभागीहरूले जोड दिएका छन् ।

पछिल्लो समय मेयर हर्क साम्पाङको श्रमदान अभियानले धरानमा कोकाह लगायतका खोलाबाट पानी ल्याएको व्यापक प्रचार प्रसार भए तापनि त्यसको परिमाण धरानको लागि पर्याप्त नदेखिएको बताउँदै कोसी प्रदेशका सांसद रमेश बस्नेतले भने ‘जतिसुकै काम भए पनि त्यो ‘खोदा पहाड निकला चुहा’ भन्ने हिन्दी उखान जस्तै भएको छ ।’

उनले मेयर हर्क साम्पाङको नाम नलिई कुनै पनि कामको ‘परिमाण’ले मात्र ‘परिणाम’ देखाउने बताउँदै ‘खल्खली पसिना बगाएर’ मात्र धेरै परिमाणको काम हुन नसक्ने उल्लेख गरे । बल गर्दा एकै ठाउँ बसेर पनि पसिना बगाउन सकिने बताउँदै भने ‘मरी मरी दौडिएर पसिना बगाएँ भनेर मात्र हुँदैन त्यो दौडले कति दुरी तय गर्‍यो भन्ने कुरा नाप्न सकिए मात्र दौडेको परिणाम निस्कन सक्छ ।’

सांसद बस्नेतले धरानको खानेपानी समस्यालाई गम्भीर रूपमा लिएर कोसी प्रदेश सरकारले यसपालिको बजेट रकम विनियोजन गरेको बताए । खानेपानीको समस्यालाई गम्भीर रूपमा लिएर समाधानका लागि प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्न जरुरी भएको उनको भनाई थियो ।

उनले भने ‘हामी सांसदहरूले गर्ने कार्य नीति निर्माणमा आफ्नो क्षेत्रमा समस्यालाई सम्बोधन गराउने हो, योजना कार्यान्वयन गर्ने तह स्थानीय सरकार हो ।’ त्यसकारण सांसदहरूको कार्य प्रत्यक्ष रूपमा नदेखिने गरेको उल्लेख गर्दै उनले भने ‘सांसदहरूले केही गरेन भन्ने कुरा गर्नु गलत हो ।’ समारोहमा प्रदेश सभाका सांसदहरू विजय राई, यशोदा कायस्थ ममता, तामाङको पनि उपस्थिति थियो ।

नेपाली काँग्रेसका धरान उपमहानगर सभापति श्याम पोखरेलले भने ‘संविधान संशोधन होला तर धरानका मेयरले गर्ने काम कुरामा सुधार गर्ने पक्षमा उहाँ देखिनु हुन्न ।’ संसारमा कहीँ नभएको शासककै रूपमा मेयर हर्क साम्पाङले आफूलाई चिनाएको बताए ।

उनको नीति र स्वभावले उनी चल्नु अस्वाभाविक मानिन्न तर त्यसको प्रत्युत्पादक परिणाम भने धरान र धरानवासीले भोग्नु पर्ने अवस्था भने दुर्भाग्यपूर्ण मानिनु पर्ने सभापति पोखरेलेको भनाई थियो । उनले भने ‘युट्युबमा भाइरल भएर, फेसबुकमा स्ट्याटस लेखेर धरानको भौतिक विकास हुँदैन ।’ विकासको कार्य गर्न विवेकवान, विधि, प्रक्रिया, ऐन कानुन अनुसार सहकार्य गर्न जरुरी भएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सुनसरी उद्योग वाणिज्य सङ्घ जिल्लामा आपदकालिन उद्धार समिति लगायत सुशासनका नीति कार्यान्वयनका साझेदार संस्था भएकाले सङ्घको निर्णयहश्र महत्त्वपूर्ण हुने बताए ।

सङ्घका सभापति विजय श्रेष्ठले पछिल्लो समय विद्युत् प्राधिकरणको नीतिले उद्योगी, व्यवसायीहरू माथि नाकाबन्दी जस्तै लागेको उल्लेख गर्दै सरकारी नीतिका कारण उत्पादन र व्यापार व्यवसाय धराशायी भएको बताए ।

उनले धरानको आर्थिक विकासका लागि १० सूत्रीय मार्गचित्र प्रस्तुत गर्दै धरानको औद्योगिक क्षेत्र विस्तारका लागि तिनै तहको सरकारले प्रस्तावित औद्योगिक ग्राम निर्माणमा तदारुकता अपनाउनु पर्नेमा जोड दिए । धरान स्थित कृषि बजारमा हाल २०० करोड भन्दा बढीको कारोबार हुँदै आएको उल्लेख गर्दै भविष्यमा बढ्ने व्यापारलाई दृष्टिगत गरी यसको आधुनिकीकरण गर्दै कृषि विकासको थप सुविधाहरूको उपलब्धता जरुरी भएको बताए ।

व्यापार व्यवसायलाई प्रोत्साहित गर्न घर बहाल कर घरधनीबाटै असुली गर्ने कडा नीति ल्याउनु पर्ने उनको सुझाव छ । आर्थिक एवं पर्यटन विकासको लागि विष्णुपादुका-वराहक्षेत्र-पञ्चकन्या-रामधुनीलाई जोड्ने धार्मिक पर्यटकीय मार्ग बनाउनु पर्नेमा उनले जोड दिए ।

धरानको विकासको निरन्तरताका लागि धरान-लेउती सुरुङ मार्ग अपरिहार्य भएको उल्लेख गर्दै निर्माणाधीन अवस्थाको मदन भण्डारी राजमार्ग र मध्य पहाडी राजमार्गलाई सुरुङ माग सँग जोड्नु पर्ने कुरामा अध्यक्ष श्रेष्ठले जोड दिए ।

पूर्व अध्यक्ष अशोक ताम्राकारले उद्योग व्यवसायीहरूलाई बैङ्कले गरेको शोषणका बारेमा कसैले आवाज नउठाएको बताए । साधारण सभा उद्घाटन कार्यक्रम महासचिव महेन्द्र प्रधानले सञ्चालन गरेका थिए ।

Chember-AGM