धरान : धरानमा खानेपानी समस्या समाधानका लागि रात दिन काम भइरहेको छ ।

चारकोशे जङ्गलबाट ल्याइएको भूमिगत पानीको मुख्य पाइप लिकेज भएको ठाउँहरूको पहिचान गरी पाइप मर्मत गर्नुका साथै सुख्खा याममा खानेपानी सहज बनाउन पहल भइरहेको छ । नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज भएको एक महिना बढी भइसकेको छ ।

Khanepani-Drn-1

साबिक संस्थानको अधिकांश संरचनाहरु जीर्ण अवस्थामा छन् । संस्थानको अधिकांश मेशिनरी सामाग्री लगायत पाइपहरू जीर्ण भएकै कारण धरानमा खानेपानी वितरणमा समस्या आएको हो ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं नगर प्रमुख तिलक राईको निर्देशनमा रातारात काम भइरहेको बताइएको छ । सोमबार राति पनि नगर प्रमुख राई चारकोशे जङ्गलमा मर्मत हुँदै गरेको पम्प हाउसको अवलोकन तथा निरीक्षण गर्न पुगेका थिए ।

Khanepani-Drn-6

आयोजनाले नेपाल खानेपानी संस्थान बोर्डमा हस्तान्तरण भएर अहिले संरचनाहरु जिम्मा लिएको छ ।’ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले भने ‘लिइसकेपछि खानेपानी सहज हुनुपर्ने धराने जनतालाई लाग्नु स्वाभाविक हो ।

तर, जिम्मा लिइसकेपछि त्यसमा भएको कमी कमजोरी सुधार गर्न, बनाउन ज्यादै ठुलो समय लागिरहेको छ ।’ साबिक संस्थानको पुराना संरचनाहरु निर्माणको क्रममा रहेको बताए । पोखरेलले भने, ‘चारकोशे जङ्गलमा संस्थानको चार वटा पम्प हाउस छन् । त्यस मध्ये ३ नं. र ८ नं. पम्प हाउस बिग्रिएको अवस्थामा थियो । बिग्रिएका कारण पानी उत्पादन हुँदैनथ्यो । ३ नं. पम्प केही दिन अघि मात्र दुई दिन लगाएर बनाइसकेका छौँ ।’

Khanepani-Drn-5

चारकोशे जङ्गलका संरचनाहरु अत्यन्तै जीर्ण रहेको बताउँदै पम्पमा आवश्यक पर्ने सामाग्रीहरू इन्डियाबाट ल्याउनुपर्ने बताए । तर, अहिले कोरोनाका कारण सामान ल्याउनमा कठिनाइ भएको हो । त्यस कारण ८ नं. पम्पको पुरानै संरचनाको मर्मत गरेर बनाएको उनले बताए ।

धरानमा हिजो अस्तिको भन्दा पानीको अलिक सहज उनको दाबी छ । तर, पूर्ण रूपमा पानीको समस्या अहिले नै समाधान हुने स्थिति नभएको उनले बताए । ‘आयोजनामा खानेपानी संस्थान मर्ज भइसकेपछि नौ महिनाको अवधि चाहिँ मेनटेन गर्ने र अपरेसन गर्ने समय हो’ कार्यकारी निर्देशक पोख्रेलले भने, ‘हामीले अहिले सम्म पाइप फेरेऊ, अहिले सुख्खा याम भएकोले पानी ज्यादै कम छ ।’ पोख्रेलका अनुसार विभिन्न स्थानमा नन रेगुलेटर भल्व फेर्ने काम आजबाट सुरु हुँदै छ ।

Khanepani-Drn-4

साबिक संस्थानको विभिन्न स्थानमा पाइप फुटेर पानी चुहावट भइरहेको छ । चुहावट कै कारण रिजर्भ ट्याङ्कीमा पानी तान्न समेत समस्या भएको हो । संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएपछि भने यस समस्याको समाधान गर्ने जिम्मा बोर्डको हो ।

खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक सूचना नै जारी गरेर चारकोशे जङ्गलमा रहेको साबिक संस्थानको मेन ट्रंकलाईन पाइपको गएको बिहीबार राति नै मर्मत गरिसकेको छ ।

Khanepani-Drn-3