धरान : वीपी प्रतिष्ठानमा हालै मात्र भएको शिक्षक, कर्मचारीको बढुवा, स्तर वृद्धिबाट असन्तुष्टि शान्त भएको अनुभव गरिएको बेला सुरक्षा र सफाइ श्रमिकहरूले उनीहरूको समस्या समाधान नभएकोमा असन्तुष्टि जनाएका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरूले वर्ष दिन देखि अलमल्याएको आरोप लगाउँदै उनीहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार उनीहरूले ३५ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको घोषणा गरेका हुन ।

नेपाल सफाइ कर्मचारी युनियन र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनको प्रतिष्ठान परिसरमा भएको भेला संवादबाट समस्याको समाधान नभएको ठहर गर्दै आन्दोलनबाटै निकास निकाल्नु पर्ने निष्कर्षमा पुगेको हो।

उनीहरूको माग नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष, जिफन्टका सदस्य भीमज्वाला राईको नेतृत्वमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार प्राडा. सूर्य सङ्ग्रौला र शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मासँग राखिएको छ।

सफाइ एवं सुरक्षा श्रमिकले वृद्धि गरिएको न्यूनतम पारिश्रमिक नपाएको, हेल्थ कार्ड सुविधा कटौती गरेको, पुराना बाँकी रकम नपाएको र जेठ महिनादेखि मासिक तलब समेत रोक्का गरिएपछि मौखिक र लिखित रूपमा पटक पटक ध्यानाकर्षण गराएको भए पनि समस्याको समाधान नभएको उनीहरूको भनाई छ ।

पदाधिकारीहरुसंग कुराकानी गर्दा सबै पदाधिकारीले श्रमिकहरूको समस्या कुनै ठुलो समस्या नभएकोले माग पुरा गर्न सकारात्मक भए पनि अरूका कारणले यो समस्या समाधान नभएको बताएका थिए । उनीहरूले श्रमिकहरूका कतिपय समस्याहरू कार्यान्वयन गर्न पर्याप्त कानुनी आधारहरू भएको बताए पनि समस्या भने जस्ताको त्यस्तै रहँदै आएको छ ।

आन्दोलन परिचालन कमिटीका संयोजक यामकला मग्रातीका अनुसार प्रतिष्ठानका अन्य कर्मचारीहरू सरह सुरक्षा र सफाइ श्रमिकहरूले वर्षौँदेखि उपयोग गर्दै आइरहेको हेल्थ कार्ड सुविधा विना कारण २०८० साउन १ गतेदेखि बन्द गर्दा श्रमिकहरू र आश्रित परिवार उपचारबाट वञ्चित छन् ।

२०८० साउन देखि लागु हुने गरी नेपाल सरकारले राजपत्रमा प्रकाशित २ हजार ३ सय बढेको तलब अहिले सम्म भुक्तान गरिएको छैन । केटिएम सेक्युरिटी कम्पनीले प्रतिष्ठानमा ठेक्का सम्झौतामा काम गरेको समयमा श्रमिकहरूले पाउनुपर्ने १ करोड ५६ लाख ३४ हजार ३ सय १३ रुपैयाँ ३६ पैसा श्रमिकहरूले पाएका छैनन् ।

श्रम अदालतले चार वर्ष अघि गरेको फैसला कार्यान्वयन गर्नुपर्ने र श्रम ऐन २०७४ अनुसारका सेवा सुविधाहरू श्रमिकहरूले पाउनु पर्ने सहितका माग गत जेठ १५ गते उपकुलपति साथै पदाधिकारीहरूलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

पटक पटक समस्या समाधान हुने आश्वासन पाएपनि अहिलेसम्म मागहरूको सम्बोधन नभएपछि आन्दोलनमा जानु परेको सुरक्षा श्रमिकका घोपा सचिव प्रवीण राईले बताए ।

उनका अनुसार आन्दोलन परिचालन कमिटीमा संयोजक यामकला मग्राती र रत्न नेम्वाङ रहेका छन् । सदस्य सचिव उनी आफै छन् भने आर्थिक विभाग संयोजक सीता बिक र प्रेम कुवार, सचिवालयमा गणेश लिम्बु, जनक सुनुवार, धनबहादुर राई, हेमन्त राई, मुनादेवी बस्नेत, यमुना काफ्ले छन् ।

सदस्यहरूमा सुरक्षा युनियनका कमिटी १५ जना, सफाइ मजदुर युनियन ११ जना गरी कुल ३५ सदस्यीय समिति बनेको हो ।

bpkihs-staff-2