धरान: लामो समयदेखि तलब वृद्धिको माग गर्दै आइरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरु आइतबारदेखि काम छोडेर आन्दोलनमा उत्रिएका छन् ।

मागबारे पटक पटक व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएको भन्दै उनीहरु आइतबारदेखि काम छोडेर धर्नामा बसेका छन् । प्रतिष्ठानको एमबिबिएस र बिडिएसका इन्टर्न डाक्टरहरु प्रतिष्ठानको उपकुलपति कार्यालयअघि आइतबार दिनभर धर्नामा बसे । आफ्नो माग पुरा नभएसम्म निरन्तर धर्नामा बस्ने इन्टर्न संघर्ष समितिका संयोजक डा.सञ्जय वरालले जानकारी दिए । ‘हामी दक्ष जनशक्ति हौं,विरामीहरुको पहिलो चरणको जाँच गर्ने र व्यवस्थापनको सबै जिम्मेवारी हामीलाई हुन्छ । तर, हामीलाई नै तलबमा अन्याय छ, हेल्परको जति पनि हाम्रो तलब छैन,’उनले भने ।

प्रतिष्ठानका इन्र्टन डाक्टरहरुले ११ हजार ८ सय तलब पाउदै आएका छन् । यहाँ डेढ सयको हाराहारीमा इन्र्टन डाक्टरहरु छन् । उनीहरुले नेपाल सरकारको स्वास्थ्यको ८ औं तहको मेडिकल अफिसरले पाउने तलबको ५० प्रतिशत तलब इन्टर्नहरुले पाउनुपर्ने माग गर्दै आएका छन् । सरकारको ८ औं तहका मेडिकल अफिसरहरुले ३६ हजार हाराहारीमा तलब पाउछन् । त्यसको ५० प्रतिशतले करिब १८ हजार मासिक हुन आउछ । करिब ४ महिना पनि उनीहरुले यही माग लिएर आन्दोलन गरेका थिए ।

bpkihs-entern1

इन्टर्न डाक्टरहरु धर्नामा बसेपछि आइतबार वार्ता भएको थियो, तर सहमति जुट्न सकेन । प्रतिष्ठानको तर्फबाट प्रवक्ता डा. पशुपति चौधरीसहित सिनियर चिकित्सकहरुको टोलीले इन्र्टन संघर्ष समितिसँग वार्ता गरेको हो । चिकित्सक टोलीले इन्टर्नहरुलाई प्रतिष्ठानको मेडिकल अफिसरले पाउने तलबको ५० प्रतिशत प्रस्ताव गरेपनि इन्टर्नहरुले स्वीकार गरेनन् । सरकारी ८ औं तहका मेडिकल अफिसर र वीपीको मेडिकल असिफरको तलब फरक छ ।

प्रतिष्ठानमा ४ बर्षे एमबिबिएस र बिडिएस अध्ययन सकेपछि एक बर्ष प्राक्टिस गर्नुपर्छ । प्राक्टिस अवधि भएपनि उनीहरुलाई इन्टर्न डाक्टर नै भनिन्छ । उनीहरुले साढे ७ महिना वीपीमा र साढे ४ महिना प्रतिष्ठानको ‘टिचिङ डिस्ट्रिक्ट’मा प्राक्टिस गर्न पुग्नुपर्छ । विरामीको पहिलो चरणको उपचार, जाँच र व्यवस्थापनको सम्पुर्ण काम आफुहरुले गर्नुपर्ने भएपनि तलबमा भने अन्याय भएको उनीहरुले गुनासो गर्दै आएका छन् । एक बर्षमा आफुहरु फेरिने भएपनि आउदो पुस्ताको लागि पनि मापदण्ड बताएर न्यायपुर्ण तलबको व्यवस्थापन गर्न आफुहरु आन्दोलनमा उत्रिएको संघर्ष समितिको भनाई छ ।