इटहरी : इटहरीको मुख्य चोकबाट धरान लाइनमा छ मकालु मेडिकल हल । इटहरीमा पहिलो पटक मानसिक रोग विशेषज्ञ डाक्टरको सेवा दिँदै आएको मकालु प्रतिष्ठित मेडिकल हो ।

युवा व्यवसायी सञ्जीव खड्काले सञ्चालनमा ल्याएको मकालुले पाटन अस्पताल काठमाण्डौका मानसिक रोग विभागका प्रमुख डाक्टर निदेश सापकोटालाई इटहरीमै उपलब्ध गराएको छ ।

सङ्खुवासभाको पाँचखपन नगरपालिका-५ मा जन्मिएका खड्काले जागिर पाउन सहज हुने विषय पढ्न खोजेका थिए । सोही क्रममा उनले सिएमए डिप्लोमा अध्ययन गरे । त्यसले मात्र भरपर्दो जागिर नपाइने भएपछि थप अध्ययनको लागि धरानको सुनसरी टेक्निकल कलेज पुगे उनी ।

सुनसरी टेक्निकलमा डिप्लोमा फार्मेसी अध्ययन गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा काम सुरु गरे । २०६६ सालमा प्रतिष्ठानको फार्मेसीमा जागिर पाएपछि निक्कै खुसी भएको अनुभव सुनाउँछन् खड्का ।

जागिर पाउने विषय अध्ययन गरेकोमा ढुक्क भएका उनी पढाइ सकिएपछि प्रतिष्ठानको जागिर छाडेर इटहरी पुगे । त्यस बेला इटहरीमा मेडिकल व्यवसाय फस्टाउन थालेको थियो । भर्खरै खुलेको टिआर हस्पिटलमा उनले जागिर पाए । घर आसपास नै जागिर भएपछि दङ्ग परे खड्का ।

बाहिरको पनि अनुभव लिनुपर्ने सोच राखेका उनी झापाको न्यु सिद्धकाली सुरुङ्गा हस्पिटल पुगे । १५ हजारको जागिर भएपछि मनमनै आनन्दित भएका खड्का लामो समय टिक्न भने सकेनन् । १ वर्ष काम गरेर इटहरी नै फर्किए । २०६८ सालमा फार्मेसीको लाइसेन्स निस्किएपछि उनले रामधुनीको साइ मेडिकलमा काम पाए ।

मेडिकल सञ्चालनको अनुभव लिइरहेका उनले त्यही बिचमा विवाह गरे । विवाह पश्चात् आफ्नै व्यवसाय खोल्ने तरखरमा लागे । अनुभव भएकै क्षेत्रमा केही गर्ने सोचमा थिए उनी । पारिवारिक रूपमा पनि जिम्मेवारी बढ्दै गएपछि जागिर भन्दा व्यवसाय नै उपयुक्त हुने निर्णयमा पुगेको बताउँछन् खड्का ।

इटहरीको मुख्य बजारमा भएर पनि खासै चल्न नसकेको मकालु मेडिकल किन्ने सोच बनाए । २०७१ सालमा मकालु मेडिकल खरिद गरेर व्यापार सुरु गरे । सुरुवातमा दैनिक एक हजार विक्री हुने गरेको मेडिकल चलाउनै मुस्किल भएको उनको अनुभव छ ।

श्रीमती सङ्गीता कोइराला पनि मेडिकल फिल्डमै भएकाले उनलाई थप सहज भयो। खाली समयमा सङ्गीताले पनि बिजनेसमा टेवा पुर्‍याउँदै आएकी छिन् ।

दुवै जनाको मेहनतले दिनको एक हजार विक्री हुने मेडिकललाई ५० हजार सम्म विक्री गर्ने अवस्थामा पुर्‍याएको खड्का बताउँछन् । औषधि बाहेक पनि आम्दानीका श्रोत बढाउँदै लगेका उनले सुरुमा भिडियो एक्सरेको सेवा राखेको बताए । थाइराइड सम्बन्धी विशेषज्ञ डाक्टर राखेका उनले अहिले व्यवस्थित क्लिनिक चलाएका छन् । 

पछिल्लो समय स्वास्थ्य बिमाको कारण व्यापारमा केही कमी भए पनि आफू सन्तुष्ट रहेको उनको भनाइ छ । उनले ५० लाख भन्दा बढीको पुँजी बनाएको बताए । थप विशेषज्ञ डाक्टर राखेर अझै व्यवस्थित गर्ने योजना सुनाएका उनले हाल दुई जनालाई रोजगारी दिएका छन् ।

makalu-medical-2-KapuriNews