धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुरक्षा ठेक्का पाएको केटिएम सेक्युरिटी प्रालिविरुद्ध श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ ।

प्रालिमा कार्यरत रत्नकुमार नेम्बाङसहितका कामदारहरुले श्रम ऐन र नियमावली वमोजिम सेवा सुविधा नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दिएका थिए । सेक्युरिटी गार्डहरुले उजुरी दिएलगत्तै श्रम कार्यालयले प्रतिष्ठानलाई पत्र पठाउदै कामदारहरले नियमानुसार पाउने सेवा सुविधाहरु उपलब्ध नगराएसम्म केटिएमले पाउनुपर्ने सम्पुर्ण रकम रोक्का राख्न पनि अनुरोध गरेको छ । वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले प्रतिष्ठानलाई पठाएको पत्रमा केटिएमले पाउनुपर्ने रकम रोक्का राखेको बिषयमा लिखित जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

ktm-security-&-sram

श्रम कार्यालय अर्धन्यायिक निकाय हो । संजेलले टेलिफोन सम्पर्कमा संक्षिप्त प्रतिक्रिया दिदै कामदार, मजदुरले पाउनुपर्ने सेवा सुविधा नपाएको निवेदन परेपछि प्रतिष्ठानलाई केटिएमले पाउनुपर्ने रकम रोक्का राख्न पत्राचार गरिएको बताए । उनले भने,‘वीपीले केटिएम सेक्युरिटी प्रालिबाट सुरक्षाकर्मी लिदो रहेछ, कामदारहरुले सेवा सुविधा ऐन वमोजिम पाएनौ भनेर उजुरी दिएका छन् । त्यसैले पत्राचार गरिएको हो ।’