धरान : नेपाली काँग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रारम्भिक चरणमा सहभागी पचासौँ वर्ष देखी पार्टीमा क्रियाशील रहँदै आएका प्रजातन्त्र सेनानी देखी जेनजी युवा सम्मले पार्टीको अनुशासन पालन गर्ने, निर्णयलाई सम्मान गर्ने प्रतिज्ञा पुनः दोहो¥याएका छन् ।
काँग्रेस महाधिवेशनको आइतबार सुरु भएको गाउँ, नगरका वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन हुने क्रममा उनीहरूले प्रतिज्ञा दोहोर्‍याएका हुन । वडाको निर्वाचन अधिकृतले उनीहरूलाई प्रतिज्ञा उच्चारण गराई प्रतिज्ञा गराउँदै ८ बुँदे प्रतिज्ञा पत्रमा हस्ताक्षर समेत गराएका छन् ।
धरान वडा १२ अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएका प्रजातन्त्र सेनानी गिरिराज आचार्यले पनि प्रतिज्ञा दोहोर्‍याए । उनी सुनसरीमा काँग्रेस पार्टी स्थापना गर्ने संस्थापक सचिव हुन् । वडा सदस्य चयन भएका जेनजी पुस्ताका कुनाल राईले पनि अग्रजहरूसँगै अनुशासन पालना गर्ने प्रतिज्ञा लिए ।
धरानका २० वटै वडाको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएको र वडा समितिहरूको निर्विरोध निर्वाचित भएको काँग्रेस सुनसरी क्षेत्र नं १ का अध्यक्ष सुजेन्द्र तामाङले बताएका छन् । उनका अनुसार धरानका २० वडाबाट कुल ६०६ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।
मुलुकमा दलीय लोकतन्त्र बहाल भएको २०४६ यता भएको प्रायः सबै निर्वाचनहरूमा काँग्रेसमा नेताहरू माथीनै अन्तर्घातको आरोप लगाउने चलन छ । यो आफैमा पार्टी अनुशासन विपरीतको कुरा हो । जेनजी विद्रोह पछिको मध्यावधि निर्वाचनमा अनुशासन हीनताको चरम विन्दु नाघे पछि काँग्रेस कमजोर बनेको हो ।
पार्टीको पन्ध्रौँ महाधिवेशनको प्रारम्भिक चरणमा प्रतिज्ञा पत्र जारी गरेर काँग्रेसले कार्यकर्ताको गिरेको मनोबल उठाउन अब प्रतिबद्धताले मात्र होइन प्रतिज्ञानै गर्नु पर्ने सन्देश दिएको छ । 
प्रतिज्ञा पत्रका सामान्य लाग्ने बुँदामा पचासौँ वर्ष पार्टीमा काम गरेका नेताले समेत हस्ताक्षर गर्नुले पार्टीको अनुशासन तल्लै स्तर सम्म गिरेको महसुस गराएको वडा अधिवेशनमा सहभागीहरूले बताएका छन् । 
प्रतिज्ञा पत्रमा ‘म पार्टीको अनुशासन पालना गर्नेछु र सङ्गठनात्मक निर्णयलाई सम्मान र कार्यान्वयन गर्नेछु ।’ बुँदा सहित ‘पार्टीको नीति निर्देशन बमोजिम पार्टीका कार्यक्रम, अभियान तथा गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी हुनेछु ।’ भनी प्रतिज्ञा हुन लगाइएको छ ।
प्रतिज्ञा पत्रका बुँदाहरू निम्न छन् :
म सङ्घीय लोकतान्त्रिक नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध रहँदै देश र जनताको हित चिताई संविधानले तोकेको नागरिक कर्तव्यहरू इमानदारी पूर्वक पालन गर्नेछु । 
म नेपाली काँग्रेसको विधान, सिद्धान्त र लक्ष्य ‘समुन्नत नेपाल र सम्मानित नेपाली’ समर्पित रही पार्टीको लक्ष्य र उद्देश्य पुरा गर्न सक्रिय र कुशलतापूर्वक आफ्नो पदीय जिम्मेवारी पुरा गर्नेछु ।
म पार्टीको नीति निर्देशन बमोजिम पार्टीका कार्यक्रम, अभियान तथा गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी हुनेछु ।
म पार्टीको अनुशासन पालना गर्नेछु र सङ्गठनात्मक निर्णयलाई सम्मान र कार्यान्वयन गर्नेछु । 
म नेपालको संविधान तथा प्रचलित कानुनले निषेध गरेको कुनै पनि कार्यमा संलग्न हुने छैन र आफ्नो क्षमता अनुसार यस्ता कार्यहरू रोक्न प्रयास गर्नेछु । पार्टी र समाजलाई जोड्दै सामाजिक कार्यमा सक्रिय रहनेछु ।
म पार्टीका विधान विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न हुने छैन र त्यस्ता कार्यहरू विरुद्ध उभिने छु । 
म सधैँ सत्य निष्ठा, जिम्मेवारी र लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहनेछु ।
म पार्टी, समाज र राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्नेछु ।        
तस्विरः निर्वाचन अधिकृत निर्वाचित क्षेत्रीय प्रतिनिधि, वा पदाधिकारीलाई प्रतिज्ञा पत्र पाठ गराउँदै ।
congres-1