इटहरी : नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनको लागि बुधवार मनोनयन दर्ता सकिएको हो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापतिमा बालकृष्ण बिस्ट र विकास केसी बिच प्रतिस्पर्धा हुने भएको छ । १४ औँ महाधिवेशनमा केसीको प्यानल बाट उपसभापतिमा विजयी भएका विष्ट यस पटक उनै केसीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् ।

हेमकर्ण पौडेलसँग दुई पटक पराजित केसी यस पटक सर्वसम्मत नेतृत्व लिने तयारीमा छन् । पौडेलकै अग्रसरतामा सहमतिको प्रयास भइरहेको छ । केसीलाई सभापति बनाउने गरी पौडेलले वार्ताको लागि माहौल मिलाएका हुन् । सहमति नभए बिहीबार बिहान ८ बजेदेखि निर्वाचन हुने बताइएको छ ।

त्यस्तै खुला उपसभापतिमा ५ र महिला उपसभापतिमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । महिला उपसभापतिमा मेनुका गिरि र एलिना चौधरीले प्रतिस्पर्धा गर्ने भएका छन् ।खुल्ला तर्फ उम्मेदवारी दिएका अनीश सुवेदी र विक्रम घिमिरेले उम्मेदवारी फिर्ता लिए भने अर्जुन कार्की, घनश्याम बराल, रतन कार्की, बिसुधन राई र विकास भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा प्रह्लाद दाहाल, रुद्रप्रसाद सुवेदी र रोशन तामाङले उम्मेदवारी दर्ता गराएका छन् । सहसचिवमा  एबिन राई, टिकाराम धमला, दिनेश अधिकारी, नौसाद मिया र बुद्धिकान्त सुवेदीले उम्मेदवारी दिएका छन् । सभापतिमा सहमति भए बाँकी पदाधिकारीमा सहमति हुने नेताहरूले बताएका छन् ।