पोखराको लोकप्रिय सांगीतिक समूह ‘कन्दरा’ पूर्वेली श्रोता माझ आफ्नो सांगीतिक प्रस्तुती लिएर आउँदैछन् । कन्दरा समुहले शुक्रबार(असोज १२) दमकमा, शनिबार(असोज १३) बिर्तामोडमा र सोमबार(असोज १५) धरानमा आफ्नो सांगीतिक प्रस्तुती दिदैछन् । कन्दरा समुहको ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ जस्ता गीत लोकप्रिय छन् ।
कन्दरा समुहले गतवर्ष पूर्वको उर्लाबारी र इनरुवामा आफ्नो प्रस्तुती दिएको थियो भने धरानमा करिब २० वर्षपछि सांगीतिक प्रस्तुती लिएर आउने भएको हो । सन् १९९४ मा पहिलो एल्बम ‘चञ्चले कान्छी’ बाट नेपाली सांगीतिक आकाशमा उदाएको कन्दरा समुह लोकपप शैलीका गीतहरु पस्कदै आएको छ । करिब १२ वर्ष अघि कन्दराका भोकलिष्ट विवेक श्रेष्ठ हङकङ बस्न थालेपछि कन्दराको सांगीतिक यात्रामा अल्पविराम लागे पनि अहिले फेरी ४ वर्षदेखि देश विदेशका विभिन्न स्थानमा सांगीतिक यात्रामा निस्केको छ । यसै सन्दर्भमा पूर्वको यात्रामा निस्कन लागेको कन्दराका भोकलिष्ट विवेक श्रेष्ठसँग कपुरीन्युजले गरेको कुराकानीको अंश ।

सांगीतिक यात्रामा पूर्व आउँदै हुनुहुन्छ, कहाँकहाँ सांगीतिक प्रस्तुती दिदै हुनुहुन्छ ?

सांगीतिक प्रस्तुती लिएर हामी (कन्दरा समुह) पूर्वेली श्रोता माझ आउँदैछौ । हामी यही शुक्रबार दमकमा, शनिबार विर्तामोड र सोमबार धरानमा प्रस्तुती दिनेछौं ।

लोकपप गीतहरु गाएर चर्चामा रहेको सांगीतिक समुह कन्दराले पूर्वमा कस्तो प्रस्तुती दिन्छ ?
हामीले बजारमा ल्याएका गीतहरुलाई पूर्वेली श्रोताहरुले अत्याधिक माया गर्नुभएको छ । हामीले करिब २ दशक अघि बजारमा ल्याएका गीतहरु धेरै लोकप्रिय भए । त्यसबेलाका श्रोताहरुले अझै हामीलाई उत्तिकै माया गर्नुहुन्छ तर पछिल्लो समयमा जेनेरेशन चेन्ज भएको छ र न्यू जेनेरेशनलाई पनि हामी संगीतको महत्व नजिकबाट बुझाउने कोशिस गर्छौ ।

अहिलेका युवा पुस्ता गीत सुन्ने भन्दा पनि उफ्रिने र होहल्ला गर्ने तर्फ बढी आकर्षित छन्, उनीहरुलाई कसरी मनोरञ्जन दिनुहुन्छ ?
वास्तवमा भन्ने हो भने अहिले कन्सर्ट भनेको रक्सि खाने र होहल्ला गर्ने, उफ्रिने मात्रै हो भन्ने युवा पुस्तामा देखिएको छ । तर कन्सर्ट भनेको त्यो मात्र होइन त्यहा गएर सुमधुर गीतहरु सुन्ने, संगीतबाट आनन्द लिने पनि हो । यो कुरा अहिलेका न्यू जेनेरेशनलाई हामी बुझाउँछौ ।

नेपालीहरुको चाडपर्वहरु नजिकिदैछ, यसपाली सांगीतिक कार्यक्रहरु कहाँ कहाँ हुन्छ ?
यसवर्षको चाडवाडमा हाम्रो यात्रा नेपालमा नै छ । हामी यसवर्ष सांगीतिक प्रस्तुती लिएर विदेश जादैनौ । विशेष गरी देशका विभिन्न ठाउँमा हुने सांगीतिक महोत्सवमा नै सहभागी हुन्छौ ।

पूर्वेली दर्शक श्रोताको माया कत्तिको पाउनु भएको छ ?
हामीलाई एकदमै मन पराईदिनु भएको छ पूर्वेली श्रोताहरुले । विशेष गरी हाम्रो बेलाको सांगीतिक माहौल कस्तो हुन्थ्यो ? सांगीतिक मिठास् कस्तो हुन्थ्यो ? भन्ने कुरा अहिलेका पछिल्लो पुस्तालाई चिनाउन र देखाउन चाहान्छौ । त्यसैले सबैजनालाई कन्सर्टमा सहभागी भइदिन म निमन्त्रणा समेत गर्दछु ।

पूर्वेली दर्शक श्रोतालाई केही भन्नु छ ?
हाम्रो कन्सर्टमा जुनसुकै उमेरका सानो उमेरदेखि बुढाबुढीसम्मले बसेर सुन्न मिल्छ । कन्सर्टमा परिवार नै बसेर गीत संगीतको आनन्द लिन सकिन्छ । त्यसैले स परिवार कन्सर्टमा सहभागी हुन आग्रह गर्दछु ।