धरान : कोशी प्रदेश नामाङ्कन खारेज गरी पहिचान सहितको प्रदेशको पूनः नामकरणको माग सहित १ नं प्रदेश पूनःनामाङकन संयुक्त सङ्घर्ष समितिले भोलि आइतबार प्रदेश राजधानी विराटनगरमा वृहत् प्रदर्शनको तयारी गर्दैछ ।
प्रदेश सभा भवन वरिपरि प्रदर्शन हुने भएकोले प्रदेश सरकारले स्थानिय प्रशासन, प्रहरी मार्फत सुरक्षा व्यवस्था कडा गर्ने तयारी गर्दैछ । त्यसको लागि मोरङ जिल्ला प्रशासनले दोस्रो पटक शुक्रवार निषेधित क्षेत्रको घोषणा गरेको छ ।
‘अको आदेश नभए सम्म’ भन्दै प्रशासनले गरेको निषेधित क्षेत्र घोषणा यो दोस्रो पटक हो । यस अघि प्रदेश सभामा फागुन १७ गते प्रदेशको नामाङ्कन सम्बन्धी संसदीय प्रक्रियाको कार्यक्रम अघि पनि प्रशासनले अर्को आदेश नभए सम्म भन्दै निषेधित क्षेत्रको घोषणा गरेको थियो ।
उक्त आदेश निष्क्रिय नहुँदै जिल्ला प्रशासनले अर्को आदेश जारी गरेकोले भोलि हुने प्रदर्शनप्रति प्रशासन निकै गम्भीर भएको सङ्केत दिएको छ । आदेशमा भोलि बिहान ५ बजे देखी नै प्रदेश सभा भवन छेउछाउ चार किल्ला तोकी सभा, जुलुस, ’याली, धर्ना सहित सवारी आवागमन निषेध गरिएको छ ।
यसअघि बिहीबार विराटनगरमा पहिचान कविता वाचनमा प्रहरीले हस्तक्षेप गरी स्रष्टाहरूलाई गिरफ्तार गरेको थियो । किरात राई लेखक सङ्घ, याक्थुङ लेखक सङ्घ र किरात अन्तर्राष्ट्रिय सांस्कृतिक अभियानको ‘पहिचानका लागि सडक साहित्यिक यात्रा’मा प्रहरी हस्तक्षेपले प्रदर्शनप्रति प्रशासनले कडा रवैया अपनाउने पूर्व सङ्केत दिएको छ ।
यता पहिचानवादीहरू प्रदर्शनलाई अस्तित्वको सवालसँग गाँसेर सशक्त बनाउने तयारीमा लागेका छन् । संयुक्त सङ्घर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भने ‘हाम्रो सङ्घर्ष शान्तिपूर्ण हुन्छ, राज्यले हाम्रो मागलाई सम्बोधन गर्छ कि दमन गर्न खोज्छ भोलि देखिने छ ।’
उनले भोलिको प्रदर्शन आदिवासी पहिचानको अस्तित्व सँग गाँसिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा भनेका छन् ‘सबै आन्दोलनमा सहभागी भएर अस्तित्व र पहिचानको लागि ऐतिहासिक लडाइँको अङ्ग बनिदिनुहुन प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति पुनः हार्दिक आह्वान गर्दछ ।'
पूनः नामाङकनको आन्दोलनमा नेपाल आदिवासी जनजाति महासङ्घ सहित त्यसमा आबद्ध आदिवासी जनजाति सङ्गठन, सङ्घ र संस्थाहरू एवं पहिचान पक्षधर राजनीतिक दलहरूका आदिवासी मोर्चाहरू सहभागी छन् । ती सङ्गठन, संस्थाहरूका जिल्ला सङ्गठनहरू अहिले गाउँ गाउँमा प्रदर्शनमा सहभागी जुटाउने अन्तिम तयारीमा लागेका छन् ।
चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाका अनुसार सबै सङ्घ, सङ्गठनका केन्द्रीय पदाधिकारी, सदस्यहरू जिल्लाहरूमा आन्दोलन परिचालनका लागि खटिएका छन् । उनका अनुसार यसपालिको आन्दोलनमा सबै पहिचान पक्षधर आदिवासीहरू एकताबद्ध भएका छन् । यो कोशी प्रदेशको मात्र सवाल होइन । अबको आन्दोलनले नदी खोलाको नामकरण गरिएको सबै प्रदेशमा सवाल उठाउने छ ।
Morang-CDO-notice