इटहरी : इटहरी उपमहानगरपालिमा फोहोर सङ्कलन नहुदा सडकमै फोहोर जलाउन थालिएको छ । इटहरीको प्रमुख व्यापारिक क्षेत्र गोल्डेन चोकमा बिहीबार दिउँसो फोहोरको थुप्रोमा आगो सल्किएपछि दिनभरि प्रदूषण फैलियो ।

सोही जलेको र बाँकी फोहोर अहिले सडकमा छरपस्ट भएको छ । चाडपर्वको बहानामा नियमित फोहोर सङ्कलन नहुँदा स्थानीय यात्रु समस्यामा परेका छन्।

फोहोर व्यवस्थापनको लागि इटहरी उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्राली बिच २०७५ वैशाख १४ गते सम्झौता भएको थियो । जैविक फोहोरबाट ऊर्जा उत्पादन गर्ने २० वर्षको लागी फोहोर व्यवस्थापन गर्ने त्रिपक्षीय सम्झौता भएको हो । २० वर्षे दीर्घकालीन सम्झौता पाएको सो कम्पनीले चाडपर्वजस्तो संवेदनशील समयमा समेत फोहोर सङ्कलनमा लापरबाही गरेको स्थानीय व्यापारीको गुनासो छ ।

चाडपर्वमा फोहोरको मात्रा अन्य समयको तुलनामा दोब्बर हुने भए पनि हप्तौँसम्म फोहोरका गाडी सडकमा निस्किएका छैनन् । जसलेगर्दा इटहरीको मुख्य चोक, भित्री सडकमा फोहोरको थुप्रो लागेर बजार दुर्गन्धित भएको छ ।