धरान : कोशी प्रदेश नामाङ्कन खारेज गरी पहिचान सहितको प्रदेशको पुनः नामकरणको माग सहित आज विराटनगरमा भइरहेको विरोध प्रदर्शनका कारण रोडशेष चौक तनावग्रस्त बनेको छ । प्रदर्शन अनुमान गरेभन्दा वृहत् देखिएको छ ।

दिउँसो ३ बजे तिर रोडशेष चौक देखी प्रदर्शनकारी मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालय तर्फ अघि बढेको बेला सुरक्षाकर्मीले प्रदर्शनकारीहरू माथि पटक पटक अश्रुग्याँस प्रहार गरेको छ । प्रदेश सरकारले ठुलो सङ्ख्यामा सशस्त्र सहितको सुरक्षाकर्मी परिचालन गरेको छ ।

अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारीको तिरबाट पनि डुङा प्रहार गरिएको छ । ढुङ्गा प्रहार प्रहरी तिरबाट पनि भइरहेकोले दोस्रो भिडन्तको सम्भावना बढेको छ । प्रदर्शनकारी तर्फका अगुवाहरूले निरन्तर शान्तिपूर्ण प्रदर्शन भएकोले सहभागीहरूलाई ढुङ्गा प्रहार नगर्न आग्रह गरिरहेका छन् ।

यसअघि प्रदेश सरकारले स्थानिय प्रशासन, प्रहरी मार्फत सुरक्षा व्यवस्था कडा गर्ने तयारी गरेको थियो । मोरङ जिल्ला प्रशासनले दोस्रो पटक शुक्रवार निषेधित क्षेत्रको घोषणा गरी मुख्यमन्त्री कार्यालय क्षेत्र रोडशेष चौक सम्म चार किल्ला तोकेको थियो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर अघि बढ्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । प्रदर्शकारीहरु निरन्तर 'कोशी प्रदेश खारेज गर'को नाराबाजी गरिरहेका छन् । उनीहरूले मुख्यमन्त्री हिक्मत कार्की मुर्दावादको नारा पनि लगाइ रहेका छन् ।