धरान : कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते धरान-१५ का पदम लिम्बु लाजेहाङको होस अझै खुलेको छैन ।

बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको १९ घण्टा बितेको छ । आज साँझ ७ बजे सम्म उनको होस नखुलेको अस्पतालमै रहेका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी अध्यक्ष अमर इजमले बताए ।

उनका अनुसार लिम्बुको टाउकोको देब्रे पटी ब्रेनमा खुन जमेको चिकित्सकहरूले बताएका छन् । शल्यक्रिया गरेर जमेको रगत सफा गर्नु जरुरी छ । तर, बेहोस अवस्थामा शल्यक्रिया गर्न नमिल्ने भएकोले होस फर्कने प्रतीक्षा गरिदैंछ ।

लिम्बुलाई हिजो राती १२ बजे आइसियुमा भर्ना गरिएको थियो । इजमका अनुसार आइसियुमा १८ घण्टा बितेको छ । उनको गम्भीर अवस्थाका कारण हेलिकप्टर मार्फत काठमान्डु लैजाने बारेमा पनि छलफल भइरहेको उनले बताए ।

टाउकोमा चोट लागेका उनी हिजो राती बान्ता गरेपछि अचानक बेहोस भएपछि उपचारार्थ बिपी पुर्‍याइएको हो । चिकित्सकहरूले लिम्बुलाई तत्काल आइसियुमा भर्ना गराएका थिए ।

विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बुको टाउकोमा गम्भीर चोट परेको हो ।

उनी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमान्डर हुन । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको राजनीतिक मोर्चाबाट एक प्रमुख घटक हो ।

विराटनगरमा भएको प्रदर्शनमा प्रहरी दमनबाट आन्दोलनकारीहरू आलोक चाम्लिङ, रमेश राई, विशाल राई र दुर्गा राई पनि घाइते भएको संयुक्त सङ्घर्ष समितिद्वारा चैत ६ गते प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।