धरान : उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १ अर्ब ७१ करोडको बजेट निर्माण गरेको छ । वडामा बजेट सिलिङ घटाएको र मेयर उपमेयर कोषमा बजेट बढाएको आरोप लगाउँदै बजेट, नीति तथा कार्यक्रम मेयर र उपमेयर केन्द्रित भएको भनी आलोचना भइरहेका छन् ।
धरानको खानेपानी समस्याका मुद्दाहरू व्यापक बन्दै गइरहेको छ । खानेपानी बोर्डको पानीले समस्या समाधान हुन नसकेको भन्दै मेयर हर्क साम्पाङ श्रमदान अभियान चलाए । खानेपानी समस्या देखी धरानको पुनर्निर्माण विषयमा नेपाल टेलिभिजनमा पूर्व मेयर तिलक राईसँग विनय बाह्रकोटीले गरेको कुराकानीको सम्पादित अंश ।
धरान उपमहानगरपालिकाको बजेट बारे तपाईँ के भन्नु हुन्छ ?
यो सङ्घीयता कार्यान्वयन पछि स्थानीय सरकारको दोस्रो कार्यकालमा आएको बजेट हो । यति बेला नगरवासीहरुले केही आशा गर्ने कुरा स्वाभाविक हो । पहिलो कार्यकालमा सिक्ने, सिकाउने र अनुभव लिने काम भयो । नगरवासीमा ठुलो अपेक्षा थियो । श्रोत साधन र विज्ञताको हिसाबले धेरै काम गर्ने सक्ने अवस्था थिएन । यद्यपि केही काम भएका छन् ।
दोस्रो कार्यकालमा केही सिकाइका अनुभव र केही योजना कार्यान्वयन हुने अवस्थामा छ । नगरवासीका अपेक्षा हुन्छन् । यसलाई नकारात्मक रूपमा म हेर्दिन । धरान उपमहानगरपालिकाको जुन बजेट आएको छ त्यो कार्यान्वयन गयो भने पनि राम्रो कुरा हो । केही पक्षहरू फरक ढङ्गले हेर्न सकिन्छ । सम्बन्धित पक्ष, अगुवा, सरोकारवाला र जनप्रतिनिधि सँग सघन रूपमा छलफल भएन । वहाँहरूको विज्ञताले जे भन्यो त्यो गर्नुभयो । गत वर्षको बजेट भन्दा यो वर्षको बजेट वडा तथा शाखा महाशाखामा घट्दै गएको छ ।
आन्तरिक आम्दानी घटेकाले बजेट पनि घटेको हो ?
शाखा महाशाखा र वडामा बजेट घट्यो तर मेयर उपमेयर कोष बढाएको देखियो । अन्य वडाको बजेट घटाएको देखियो । यसले व्यक्तिवादी चरित्र र अहमतालाई प्रस्तुत गरेको छ ।
अहिलेको बजेट र धरानका मेयरको कार्यशैलीबाट खानेपानी समस्या समाधानमा होला ?
श्रम गर्नु भनेको नराम्रो कुरा होइन, राम्रो कुरा हो । कुनै व्यक्ती घरैमा बस्यो भने त्यसले राम्रो गरेन । तर उसले केही घण्टा श्रम गर्छ भने त्यसले केही न केही उत्पादन गर्छ । पुँजीको निर्माण गर्छ । त्यसो भएको हुनाले धरानका नगरवासीले गरेको श्रमलाई सकारात्मक रूपले हेर्न सकिन्छ । धरानमा अहिले मात्र हैन तिसौँ वर्ष अगाडि देखी बाटोघाटोमा स्थानीयले पैसा दिएर वा जन सहभागितामा विकाश गरिएको हो । विकाशमा जनसहभागिता पुरानै अवधारणा हो ।
तपाई श्रम अभियानमा जानु भयो भएन ?
म गइन । जान उपयुक्त देखिन मैले । मैले के भन्न खोजेको भने त्यसको एउटा पद्धति प्रक्रिया हुन्छ । के काम र कुन पद्धतिले कस्ता जनशक्ति खटाउने भन्ने कुरा भएन । धेरै सहभागिता भयो तर त्यसले पुँजीको निर्माण गरेन । सहभागिताको लागि मात्र भयो ।
धरानको खानेपानीको मूल समस्या प्रणालीमा हो की श्रोतको अभाव हो ?
खानेपानी देशव्यापी रूपमा मात्रै हैन संसारमै अभाव छ । धरानमा पनि समस्या छ । श्रोतको पनि समस्या हो र प्रणालीमा पनि समस्या छ । सतहको पानी र भूमिगत पानी दुई वटा श्रोत छन् । भूमिगत श्रोत पनि प्रयोग गर्न सकियो । सप्तकोसीको पानी पनि प्रयोग गर्न सकिन्छ । त्यसको लागि प्रणाली व्यवस्थित गर्नुपर्छ ।
खानेपानीको दीर्घकालीन समाधान के गर्दा हुन्छ ?
अहिले जुन हाम्रो श्रोत छ सर्दु जलाधारको श्रोत त्यसको व्यवस्थापनमा लाग्नुपर्यो । अर्कातिर खानेपानी आयोजना निर्माणमा पौने दुई अर्ब खर्च भएको छ । साबिक खानेपानी संस्थानका सम्पूर्ण संरचनाहरू पुनर्निर्माण गरेर त्यो जिम्मा लिने । जहाँ पाइपलाइन विस्तार भएको छैन । त्यहाँ पाइपलाइन विस्तार गर्ने ।
साबिक खानेपानी संस्थानको पाइपलाइन र नयाँ पाइपलाइन मर्ज गरेर पानी वितरण गर्ने भन्ने थियो । पुरानो पाइपमा कनेक्सन गर्ने योजना बनेको थियो । तर खानेपानी संस्थानका पुनर्निर्माण गर्न पाइएन । ४० वर्ष पुरानो वेल तथा अन्य उपकरण मर्मत हुन पाएन । सम्पन्न हुने चरण सम्म खानेपानी संस्थान हस्तान्तरण हुन पाएन ।
अहिलेकै नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) हरुले विरोध गरे । आयोजनाको बारेमा वहाँको पनि गलत मानसिकता थियो । सर्दुको जलाधारको आयोजना पुनर्निर्माण गर्नु पर्ने बेला वहाँले तोडफोड गर्नुभएको थियो । वहाँलाई नगरपालिका र खानेपानीले मुद्दा लगाएको थियो । पछि हामीले फिर्ता लिएको हो मेरो कार्यकालमा ।
खानेपानीको कर्मचारीले काम गर्दा काम गर्नै दिनुहुन्न थियो । बाटोमा हप्कीदप्की गर्नुहुन्थ्यो । जहाँ पायो त्यही जाने जे पायो त्यही गर्ने । भिडियो खिच्ने । हिजो खानेपानी बोर्डका कर्मचारी त्यसरी हिँड्दा डराएर हिँड्नु पर्ने अवस्था थियो कहाँ पो झम्टेला कि, कहाँ पो कुट्ला कि भनेर । वहाँले साबिक खानेपानी संस्थानको पुनः निर्माण हुनै दिनु भएन । जुन अहिले जस्ताको त्यस्तै छ । आयोजना पुनर्निर्माण गर्न पाएको भए अहिलेको अवस्थामा पानी खान पुग्थ्यो ।
खानेपानी बोर्डले किन समस्या सुल्झाउन सकेन ?
संस्थानलाई बोर्ड बनाउने कुरा पुरानो हो । पुरानो धरानको लागि बोर्डको तयारी भएको थियो । अहिले धरान वृहत् भएको छ । हाम्रो अल्पज्ञानको कारणले धेरै काम भएन । हामीले चाहेजती काम गर्न सकेनौँ । यसलाई राम्रो सञ्चालन गर्नुपर्यो । बोर्डको व्यवस्थापन मुख्य कुरा हो ।
सर्दु जलाधारको श्रोतले मात्र धरानको खानेपानी समस्या समाधान हुन सक्छ ?
जलाधार क्षेत्र धरानको सम्पत्ति हो । विना लगानी हामीले त्यो श्रोतको प्रयोग गर्न पाएका छौँ । छोटो दुरीमा हामीले पानीको श्रोत प्रयोग गर्न पाएका हौँ । जलाधार बाट खानेपानी उपभोग गर्ने धरानमा अहिले पनि ८०/९० वटा खानेपानी उपभोक्ता समिति छन् । जलाधार क्षेत्रले धरानका जनतालाई पानी खुवाइरहेकै छ ।
वर्तमान मेयरको कार्यशैलीलाई कसरी समीक्षा गर्नुभएको छ ?
अलिकति उच्छ्रीङखलता देखिन्छ । कहीँ कहीँ अपरिपक्वता देखिन्छ । काहीँ काहीँ अति महत्वकाङ्क्षा र ‘म’ वाद देखिन्छ । विगतको योगदान, विज्ञहरूको सरसल्लाह र सुझावमा विश्वास नगरेको जस्तो । एक किसिमको आत्मरतिमा रमाएको । म भन्दा अर्को कोही छैन की जस्तो अनुभूति देखिन्छ ।
तपाईँको आफ्नो कार्यकालको मूल्याङ्कन कसरी गर्नु हुन्छ ?
मेरो कार्यकालको सुरुवातमै कोभिड महामारी देखापर्यो । कोरोना कार्यकाल हेरौँ न । देश विदेशबाट सहयोग मागेर सहकार्य गरेर कोरोना परास्त गर्यौँ । बन्द गर्नुस्, नहिड्नुस भन्ने अवस्था थियो । अन्तर्राष्ट्रिय स्तरमा खाद्यान्न र खोपको अभाव थियो । त्यसमै बित्यो नि कार्यकाल ।
धरान गुलजार सहर थियो, त्यो गरिमा फर्काउन के गर्न सकिन्छ ?
धरान प्राकृतिक रूपले रमणीय र मानवीय हिसाबमा सहयोगीहरूको सहर हो । भूपू गोर्खाहरूले निर्माण गरेको सहर हो । भूपूहरूले विदेशको विकाश देखेर धरान बनाएको हो । वहाँहरूको सक्रियताले धेरै काम भए । अहिले वहाँहरूको उपस्थिति कमजोर बन्दा धरानमा खास काम भएका छैनन् । धरानको उत्पादन र उपार्जनको सवालमा धेरै सम्भावना छ । बराह भाटभटेनी लगायत सुपरमार्केट राम्रो सँग चल्ने देखियो नि । लगानीको वातावरण र सम्भावनाहरू धरानमा छन् ।
स्थानीय राजनीतिज्ञबाट बिपी प्रतिष्ठानमा हस्तक्षेप हुने गुनासो छ नि ?
बिपी प्रतिष्ठान अहिले जुन रूपमा आएको छ त्यसमा स्थानीय नागरिक, राजनीतिक दलहरू, सामाजिक कार्यकर्ता र सङ्घसंस्थाको भूमिका छ । त्यहाँका नगरवासीको हस्तक्षेप गर्न सक्ने हैसियत कहाँ छ । भिसी, रजिस्ट्रार डाइरेक्टर केन्द्रबाट नियुक्ति हुन्छन् । मन्त्री, प्रधानमन्त्रीले नियुक्त गर्नुहुन्छ । त्यहाँको गलत निर्णय र मनसायले गर्दा प्रतिष्ठान समस्या ग्रस्त बन्दै गएको छ । हामीले सहयोग नै गरिरहेका छौँ नि । अहिले सम्म प्रोफेसर डाक्टर विद्यार्थीलाई अपनत्व महसुस गराएका छौँ । सहयोग गरेका छौँ ।
स्वतन्त्र मेयर विजयी हुँदा दलहरूलाई आउँदा दिनमा चुनौती बनेको छ ?
मलाई त्यस्तो लाग्दैन । पार्टीहरूले पनि केही केही कुरामा पुनर्विचार गर्नुपर्ने अवस्था छ । आफ्नो गतिविधि, कार्यक्रम, नेताहरूको चरित्र, नेताहरूको योगदान देखी सक्तामा हुँदा र बाहिर हुँदाको व्यवहारमा रूपान्तरण चाहिन्छ । सँगसँगै कार्यकर्ताको योगदानलाई विचार गर्नुपर्छ । कार्यकर्ताले निस्वार्थ काममा लागेका छन् भन्ने बुझ्नु पर्छ । नेताहरूले बोल्ने भन्दा पनि काममा लाग्नुपर्छ । कार्यशैली परिवर्तन गर्नु पर्यो । कार्यकर्ता र मतदातालाई नजिक राख्नु पर्यो भन्ने सन्देश भने दिएको छ ।