• लोकराज निरौला

नेल्सन भण्डेलाले भनेका छन्, दुनियाँलाई बदल्ने सबैभन्दा शक्तिशाली हतियार भनेको शिक्षा हो । मान्छेलाई मूर्ख बनाउने सबैभन्दा शक्तिशाली हतियार धर्म हो ।

धरानमा मन्दिर नजिक चर्च बनेको र एक समूहले गोरु काटेर भोज खाएको सामाजिक सञ्जालमा प्रचार गरेपछि विवाद बढ्यो । सामाजिक सद्भावनै खल्बलिने अनुमान गरिएपछि भदौ ९ गते  जिल्ला प्रशासन कार्यालयले धरानमा निषेधाज्ञा नै लगाउनु पर्‍यो ।

धरानमा कर्फ्यु लागेपछि हिन्दु धार्मिक समुदायको सद्भाव र्‍याली प्रदर्शन इटहरीमा आयोजना गरियो । जुलुसको भिडमा आएका समर्थक शुभचिन्तकहरूले त उत्तेजनामा आएर जे पनि नाराबाजी गर्ने नै भए । तिनीहरूको लेखाजोखा गरेर पनि भएन । 

तर सम्बोधनको क्रममा धर्मशास्त्रको गहन अध्ययन गरेका धार्मिक गुरुहरूले दिएका अभिव्यक्ति धार्मिक सामाजिक सहिष्णुता र सद्भाव कायम गर्ने भाषा शैली थिएन हुन त धार्मिक गुरुहरूले रिसको बेला वेद नपढेको पनि हुन सक्छ ।

सभामा बोल्ने धर्म गुरुहरूले हिन्दु राष्ट्र बनाएरै छाड्ने मन्दिर नजिक बनाएको चर्च भत्काएरै छाड्ने, गोरु काट्नेलाई कारबाही र प्रतिबन्ध गाउनु पर्ने माग गरे । कतिपयले त धरान एक मिनेटमा सखाप पारिदिने जस्ता सम्मका अभिव्यक्ति दिएको पाइयो । 

चर्च निर्माणको बारेमा थाहा नै नपाएको पछि मन्दिर छेउमा निर्माण भएको चर्च हटाउनुपर्ने माग राखेर निवेदन परेपछि दुवै पक्षलाई वार्तामा बोलाई छलफल गर्दा मन्दिर पक्षधरले चर्च हटाउनै पर्ने अडान राखेर पछि यो कुरा नगरपालिकाले मात्र निरूपण गर्न सकेन । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले अदालत जान सुझाव दिएपछि हिन्दुवादीहरू रुष्ट भए ।

त्यसेको प्रतिध्वनि इटहरीमा हर्क साम्पाङ विरुद्ध इसाईको पक्ष लिएको भनेर चर्को नाराबाजी पनि गरियो । धेरै ठाउँमा मन्दिर नजिक चर्च मस्जिद र गुम्बाहरू बनेका छन् । नेपालमा रहेका केही धार्मिक सम्प्रदायहरूमा गोरुको मासु खाने पूजामा चढाउने चलन ती जातीहरूको संस्कार थियो ।

उनीहरूको संस्कार पछि विभिन्न कालखण्डमा शासक र तीनले चलाएका व्यवस्था अनुसार गोरु काट्न प्रतिबन्ध लगाएपछि उनीहरूले लुकीछिपी गोरुको मासु खाने गरेकै थिए । हिन्दु धर्मभित्र कै वर्ण व्यवस्थामा ब्राह्मण क्षेत्रीले पालेका गाई गोरु आकस्मिक रूपमा लडेर मरे भने वैश्य शुद्ध भनिएका जाती समुदाय मलाई तिमीहरूले त खान हुन्छ लगेर खान्छौ भने खाओ भनेर हिजो अस्तिसम्म भनेकै हो । 

मन्दिर छेउमा चर्च बन्दा वा कुनै समूहले गोरुको मासु खाएको कुरामा देशैभरका हिन्दु सनातनवादीहरुले धरानमै शक्ति प्रदर्शन गर्न आउनुपर्ने पनि होइन । आ-आफ्नो ठाउँमा विरोध जनाएर सम्बन्धित निकायमा कानुनी कारबाहीका लागि उजुरी दिँदा भई हाल्ने कुरा हो । 

यति मात्र होइन उनीहरूले हिन्दु राष्ट्रको माग गरेका छन् । हिन्दु सम्राट्को माग गरेका छन् । गणतन्त्र विरोधी नारा लगाएका छन् । राजनीतिक दलका शीर्ष नेताहरू विरुद्ध उछृंखल नारा लगाएका छन् । यसबाट के पुष्टि हुन्छ भने यो मन्दिर छेउको चर्च र गोरु खाएको कुरा त बहाना मात्र हो । 

उनीहरू यो व्यवस्था राज्यको संरचना प्रणालीको पुरै विरुद्ध सशक्त र सङ्गठित भएर आएका छन् । कुनै राजनीतिक विचार प्रस्तावना नभएपछि धार्मिक भावना र सम्वेदनशीलतालाई भड्काएर वर्तमान व्यवस्था र प्रणालीलाई असफल साबित गर्न र विघटन गर्न सकिन्छ भन्ने ध्येयका साथ नै यो काम भएको छ । राजतन्त्र सहितको हिन्दु राष्ट्र, सङ्घीयताको खारेजीको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको नारा र नीतिबाटै यो प्रष्ट हुन्छ । 

कुनै पनि जाती, भाषा धर्म, संस्कार संस्कृति राजनीतिक विचार सधैँ एक नाश हुने कुरा होइनन् । अपरिवर्तनीय पनि हुँदैनन् । कतिपय विकसित र सशक्त भएर जान्छन् कतिपय लोप भएर जान्छन् आज एउटा राजनीतिक धार्मिक आस्था भएको मान्छे । भोली अर्को विचार र आस्थामा जान सक्छ ।

हिजो गोरुको मासु खाने जाति समुदाय राजनीतिक व्यवस्थाका कारण प्रतिबन्धमा परे । देशमा राजनीतिक परिवर्तन आयो । सबैले आफ्नो धर्म परम्परा संस्कार अनुसार मान्ने गर्न पाइन्छ । पाउनु पर्छ भन्ने लागेर अलिक खुल्ला गर्न खोजे होलान् ।

के हाम्रो संविधान नियममा हिन्दु सनानतीहरुको धार्मिक आस्थाको प्रतीक गोरु, गाई बाहेक अन्य पशु पक्षी मार्दा खाँदा कुनै कानुनले बाधा गर्ने छैन भनेर संशोधन गरी दिँदा सबैको जित हुन्छ ? मन्दिरकै छेउमा बनिसकेको चर्चलाई भत्काउनु, खेद्नु भन्दा एक अर्कालाई असर नपर्ने नहुने गरी धार्मिक कार्य गर्ने सहमति गरिए दुवैको जीत सद्भाव र सहिष्णुताको नमुना देखिन्छ ।

लोक कल्याणकारी राज्य व्यवस्थामा मानव समुदायको हितका लागि सबै विकल्प खोजिनु पर्छ । एकले अर्कालाई निषेध गर्न खोजियो भने दुइटैको हित नहुन सक्छ । कुनै पनि क्रान्ति, युद्ध सङ्घर्षले परिवर्तन माग गर्दछ । नेपालमा पनि २००३ साल देखि २०६३ साल सम्म भएका युद्ध सङ्घर्ष र आन्दोलनबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा आएको हो ।

राज्यको शासन प्रणालीमा परिवर्तन भएपछि पुराना प्रणाली मूल्य मान्यता संस्कार संस्कृति नागरिकको जीवनशैली पनि फेरिने र पुर्नजागृत हुने गर्दछन् । गोरु खाने वा गोरुको मासु चढाएर संस्कार गर्ने समुदायको प्रचलन नयाँ होइन ।

पुरानो व्यवस्था परिवर्तनका लागि हुने सङ्घर्ष र आन्दोलनलाई पुराना शासकहरूले सकेसम्म दमन गरेर यथास्थितिमा राख्न चाहन्छन् । तर सङ्घर्षको रापताप बढेर जनताबाट बहिस्कृत र असुरक्षित भएपछि उनीहरू शासक सत्ताबाट भाग्ने बाहिरिने गर्दछन् । तर तिनीहरू त्यही हुन्छन् । पुराना मूल्य मान्यताका कुरा पुरानो सत्तामा रहेका र सत्ताको वरिपरि रहेर सानमान खाए पाएका उच्च जात वर्गका मान्छेहरू पनि त्यही हुन्छन् ।

उनीहरू क्रान्ति र आन्दोलनको राप ताप हुन्जेल सम्म मौन बस्छन् र मौका पर्नासाथ टाउको उठाउने पुर्नउत्थान तर्फ लाग्न धार्मिक अतिवादी भड्काऊ जातीय तथा धार्मिक भड्काऊ ल्याएर जनतालाई साँच्चै हो कि भन्ने भ्रम पार्ने कोसिस गर्छन् ।

हाम्रो देश नेपाल धर्म निरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गए पनि यो कुरा धर्म परम्परावादी उच्च जातीय अहङ्कारवादी, हिजो साशनसत्तामा रहेका र त्यसको वरिपरि रहेर सानमान खाई रहेका अभिजात वर्गलाई पाच्य छैन । समावेशिता आरक्षण जातीय समानताका कुरा केही मन परेको छैन यही नै हो धरानको चर्च गोरु प्रकरण ।