धरान : सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगितामा १४ विद्यालय सहभागी रहने आयोजक धरान-१२ स्थित सुनाखरी एकेडेमीले जनाएको छ ।
प्रतियोगिता धरान-१७ एन्फा एकेडेमीको फुटबल मैदानमा मङ्सिर ७ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । हालसम्म प्रतियोगितामा सहभागीताका लागि हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान-१७, नेपाल प्रहरी विद्यालय धरान-१३, प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुलले नाम दर्ता गराएका छन् ।
यसैगरी ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कुल, सैनिक आवासीय आर्मी स्कुल, हिबिस्कस स्कुल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का र ज्वालामुखी स्कुल पट्नालीले नाम दर्ता गराइसकेको आयोजक सुनाखरीले जनाएको छ ।
प्रिन्सिपल मिलनकुमार राईले शनिवार आयोजित पत्रकार सम्मेलनमा सहभागी टिमहरू पहिले आउने पहिलो आधारमा छनोट गरिएको जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार ५० हजार, उपविजेताले २५ हजार, र सेमिफाइनलमा पुगेका २ टिमले ५/५ हजार सहित प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलकिपर, फर्वार्ड, डिफेन्स र उच्च स्कोरलाई २ हजार ५०० को दरले, उत्कृष्ट अनुशासित टिमलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रत्येक खेलको ‘म्यान अफ द म्याचको पुरस्कार १००० रुपैयाँमा राखिएको जानकारी दिइएको छ ।
प्रिन्सिपल राईका अनुसार भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्तरमै प्रतिस्पर्धाका लागि प्रतियोगिता आयोजना गरिएको हो ।


































































