काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण 'फेस्टिभल अफ द हिमालयज' भोलि मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता प्रारम्भ हुने पूर्वसन्ध्यामा विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड भिभोले पुनः नेपाल क्रिकेट संघसँग सहकार्य गर्दै आधिकारिक स्मार्टफोन पार्टनर बनेको घोषणा गरेको छ ।
भिभोले आफ्नो र एनपीएलका आधिकारिक फेसबुक तथा इन्स्टाग्राम खातामार्फत साझेदारी सार्वजनिक गरेसँगै क्रिकेटप्रेमीहरूमा उत्साह, रोमाञ्च र अपेक्षा थप चुलिएको जनाएकाे छ । पहिलो संस्करण सफल बनेपछि यसपटकको लिग अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । २७ दिनसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ ।
भिभोले आधुनिक प्रविधि, नवाचार र फ्यान केन्द्रित गतिविधिहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ जीवन्त र नजिक बनाउन लक्ष्य लिएको बताएको छ । भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालका अनुसार 'क्रिकेट नेपालीहरूलाई एक ठाउँमा जोड्ने खेल हो, र हामी यस यात्राको पुनः हिस्सा हुन पाउँदा उत्साहित छौं ।'
त्यस्तै, क्यानका महासचिव पारस खड्काले एनपीएल नेपाली प्रतिभाको प्रमुख मञ्च बन्न सफल भएको बताउँदै भिभोजस्तो अन्तर्राष्ट्रिय ब्रान्डको निरन्तर सहकार्यले नेपाली क्रिकेटलाई विश्वमै चिनाउन मद्दत पुगेको टिप्पणी गरे ।
प्रतियोगिताभर भिभोले फ्यानहरूका लागि विभिन्न डिजिटल तथा ग्राउण्ड एक्टिभेशन कार्यक्रमहरू संचालन गर्नेछ, जसले फ्यान संलग्नता, मनोरञ्जन र क्रिकेटप्रतिको आकर्षणलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ ।


































































