धरान : पुरानो पुस्ताका धरानका पत्रकारलाई चामल खुवाएको कुराले चर्चामा आएकी शशि थापा सुब्बाले युट्युब र फेसबुकमा आफूले बोलेको कुरा कटिङ गरेर राखेको क्लिपका कारण नयाँ पुस्ताका पत्रकारहरूसँग दुरी बढाएको बताएकी छन् ।
याक्थुङ चलचित्रकर्मी सङ्घको वनभोज अमाहा सिमसारमा सहभागी उनले भनिन् ‘गोर्खा चौतारीको उद्घाटनमा सहभागी हुन आएको बेला नयाँ मिडियाले बनाएको भिडियो क्लिपका कारण नयाँ पुस्ताका पत्रकारबीच गलत सन्देश फैलिएको हो ।’
गेसो महिला सङ्घ सुनसरीकी पूर्व अध्यक्ष थापा सुब्बाले गोर्खा समुदाय र पत्रकारबीच सद्भाव र समन्वय बढाउने उद्देश्यले आफू आएकोमा उल्टै केही व्यक्तिहरूको भिडियोले गोर्खा र मुलधारका पत्रकार दुबैलाई टाढा बनाउने काम गरेको बताइन् ।
उनले भनिन् ‘विशेष गरी नयाँ पुस्ताका पत्रकारमा गलत बुझाइ फैलिएको देख्दा मन दुखेको छ ।’ थापा सुब्बाले भनिन ‘नयाँ पत्रकार भाइ–बहिनीहरूले ‘लाहुरेनी हो,जे भने पनि हुन्छ जस्तो गरी टिप्पणी गरे तर म त सदैव पत्रकारहरूको सहयोगको कदर गर्छु, गेसो आन्दोलन सफल हुनुमा पत्रकारकै ठुलो हात छ यसमा दुई मत छैन ।’
उनले मुलधारका पत्रकारसँगको दूरी केही बढे पनि आफू त्यसलाई ‘सिलाउने प्रक्रियामा रहेको बताइन् । मुलधारका पत्रकारसँग सद्भाव आफ्नो पहिलो प्राथमिकता भएको बताइन् ।
याक्थुङ चलचित्रकर्मीहरूलाई उनले समुदायबिच सहकार्य, सम्मान र नजिकपनाको वातावरण सिर्जना गर्न कलाकार, पत्रकार र अभियानकर्मी सबैले भूमिका खेल्नुपर्ने सुझाव दिइन् । थापाको भनाई थियो ‘‘कलाकारको कुनै जात धर्म हुँदैन, केवल कलाको सम्मान हुन्छ ।’
वनभोजमा विभिन्न फिल्ममा उत्कृष्ट भूमिकामा योगदान पुर्याएका कलाकारहरूलाई सम्मान गरियो । कार्यक्रमको अध्यक्षता सङ्घका अध्यक्ष नवीन मेन्याङवोले गरेका थिए ।
वनभोज कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, सामाजिक अभियन्ता र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।



































































