इटहरी : इटहरी उपमहानगरपालिकाको हाता भित्र निर्माणाधीन सार्वजनिक शौचालय अलपत्र अवस्थामा छ ।
शिलान्यास भएको ६ वर्ष पुरा हुँदा समेत निर्माण सम्पन्न हुन नसकेको हो । इटहरीमा सार्वजनिक शौचालयको व्यापक माग भएपछि तत्कालीन मेयर द्वारिकलाल चौधरीले शिलान्यास गरेको शौचालय वर्तमान मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्न नपाउने अवस्थामा पुगेको छ । 
पौडेलेको कार्यकाल डेढबर्ष पनि बाँकी नरहेको अवस्थामा शौचालय निर्माण सम्पन्न हुने छाँट देखिएको छैन । कोरोना महामारीकै बिच २०७६ साल पुस १७ गते इटहरी उपमहानगरपालिका र अङ्कित निर्माण सेवाबिच सम्झौता भएको थियो । ६३ लाख ६७ हजार लागतमा निर्माण हुन लागेको शौचालय २०७७ जेठ ३० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । 
कोभिड महामारीलाई देखाएर म्याद थप भए पनि पछिल्लो कार्यकालमा थप प्रगति हुन सकेको छैन । यसअघि आफ्नो कार्यकालको अन्त्यमा २०७८ फागुनमा तत्कालीन मेयर द्वारिकालाल चौधरीले शौचालय निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको बताएका थिए । पूर्व मेयरकै दाबीलाई आधार मान्दा ४ वर्षमा १० प्रतिशत काम पनि सम्पन्न हुन सकेन । २०७९ वैशाखको निर्वाचन पछि नयाँ जनप्रतिनिधि आएपनि शौचालय पुरानै अवस्थामा छ । निर्माणाधीन शौचालयमा एकै पटक १५ जनाले प्रयोग गर्न सक्ने गरी बगैँचा, वाटर फाउन्टेन सेन्सर प्रविधिको धारा र ढोका रहने छन् ।
२०७९ असार २५ गते सम्ममा निर्माण सम्पन्न हुने दाबी गरेको उपमहानगरपालिकाले त्यसयता अन्य दुई वटा शौचालय निर्माण गरिसकेको छ । पूर्व बस स्टेण्ड र इटहरीको मुख्य चोकमा निर्माण सम्पन्न भएका शौचालयहरू प्रयोगमा आइरहेका छन् । 
उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले भने बारम्बार ताकेता गर्दा समेत निर्माण व्यवसायी सम्पर्कमा नआएको बताए । अन्तिम प्रक्रियामा भए पनि निर्माण व्यवसायीले चासो नदिएको कारण अलपत्र परेको उनको भनाइ छ । थप कानुनी कारबाहीको लागि सल्लाह भइरहेको उनले प्रस्ट पारे । निर्माण कम्पनी अङ्कित निर्माण सेवाका देवकुमार यादवलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा फोन रिसिभ गरेनन् ।
itahari toilet 2