धरान : खाद्यवस्तु देखी बजारमा सबै कुराको मूल्य बढेर आकासियो तर सहरको सबै काममा घामपानी नभनी श्रम गर्ने मजदुरहरूको ज्याला भने बढेको छैन । यसबारे स्थानीय सरकार, सरोकारवालाहरूको अहिले सम्म ध्यान पुगेको छैन ।
धरानमा निर्माण क्षेत्र, यातायात, उद्योग, अटो मेकानिक्स, सुरक्षा, सरसफाइ, लोड अनलोड, स्वास्थ्य स्वयंसेवी, सौन्दर्यकर्मीहरूले महँगी वृद्धिसँगै पारिश्रमिक समानीकरणका लागि सङ्गठित रूपमा आवाज उठाउनु पर्ने बताएका छन् ।
जिफन्टद्वारा शनिवार आयोजित अन्तरकृयामा लोड-अनलोड श्रमिक अमर राईले उद्योगी-व्यवसायीको दबाबमा पुरानै ज्यालामा वर्षौँदेखि काम गर्नुपरेको पीडा पोखे । उनले भने ‘सामान्य उपभोग्य सामानको भाउ हरेक वर्ष बढ्छ, तर हाम्रो ज्याला कहिल्यै बढ्दैन ।’
उनले अनौपचारिक क्षेत्रका श्रमिकहरूको सङ्गठन नभएकोले उनीहरू पिरमर्का उठाउन संस्थागत पहल भएको बताउँदै जिफन्टले आवाज उठाइदिनु पर्ने कुरामा ध्यानाकर्षण गराए । राईले भने ‘अब तत्काल श्रमको दररेट कायम गर्न जनफन्टले पहल गर्नुपर्छ ।’
स्वास्थ्य स्वयंसेवी मनकुमारी लिम्बूले वर्षाैँ देखि ४ सय रुपैयाँ भत्तामै काम गर्न बाध्य भएको बताउँदै भनिन्न, ‘हामी दिनरात काम गर्छौँ, घाम-पानी सहन्छौँ, तर न स्थानीय सरकारले ध्यान दियो, न प्रदेश र सङ्घीय सरकारले ।’
निर्माण मजदुर मुक्तिनाथ गिरीले धरानका नगर प्रमुख हर्क सम्पाङको उदासीनताका कारण निर्माण क्षेत्रका श्रमिकको सूचीकरण हुन नसकेको आरोप लगाए । उनले भने ‘धरानमा कति निर्माण मजदुर छन् त्यो तथ्याङ्क नै नगरपालिकासँग छैन ।’
यसबाट सामाजिक सुरक्षामा समावेश गर्ने कुरा झन् टाढा बनाएको उनको भनाई छ । गिरीले भने, ‘अब सबै मजदुरले नगर सरकारसँग सामूहिक पहल गर्नुपर्नेछ, जनफन्टले नेतृत्व लिनुपर्छ ।’
अटो मेकानिक्स मजदुर हरि भट्टराईले विद्युतीय सवारी साधनको बढ्दो प्रयोग सँगै मेकानिक्स बेरोजगार हुँदै गएको चिन्ता व्यक्त गरे । भारतीय नागरिकहरू दैनिक रूपमा धरान आइरहेकाले स्थानीय श्रमिकको रोजगारी प्रभावित भएको उनको भनाइ थियो ।
जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले गरिएको कार्यक्रममा उठेका प्रश्नमा जिफन्टका उपाध्यक्ष विदुर कार्की, सचिव बेलीमाया घले, सदस्य भीम ज्वाला राईले जवाफ दिएका थिए ।
कार्यक्रम जिफन्ट नगर अध्यक्ष समशेर बर्देवाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको औचित्यमाथि मजदुर नेता भीम ज्वाला राईले प्रकाश पारेका थिए ।
जिफन्टका उपाध्यक्ष तथा अभियान ‘कोशी’का संयोजक विदुर कार्की प्रमुख अतिथि रहेको कार्यक्रममा धरानका ४५ जना अग्रणी श्रमिकको सहभागिता थियो। कार्यक्रममा संयोजन सचिव डम्बर अधिकारीले गरेका थिए ।


































































