धरान : फिलिपिन्सको बागुयो सहर स्थित कोर्डिलेरा कन्भेन्सन हल अफ बागुयो कन्ट्री क्लबमा सम्पन्न पुरुषहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका अभिषेक चुडालले मिस्टर कन्जिनियालिटीको अवार्ड चुमेका छन् ।

पुरुषहरूको सौन्दर्य प्रतियोगितामा ‘मिस्टर इन्टरनेसनल २०२३’ उपाधिका लागि उनी नेपालबाट प्रतियोगी थिए । अभिषेकले भने ‘काठमाण्डौंबाट फिलिपिन्सतर्फ लाग्दा नै अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालका लागि केही न केही लिएरै आउँछु भन्ने सोच थियो ।’

टफ कम्पिटिशनमा मिस्टर कन्जिनियालिटी अवार्ड जित्न सफल भएका अभिषेक हिमालय एयरलाइन्समा क्याबिन क्रु हुन । यसअघि मिस्टर नेपाल २०२२ मा फस्ट रनर्सअप भएका अभिषेकलाई मिस्टर नेपालका लागि आधिकारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिईंईले सम्पूर्ण तयारी सहित नेपालका तर्फबाट सहभागिता गराएको हो ।

मिस्टर इन्टरनेसनल २०२३ मा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि चुमेका छन् । प्रतियोगितामा ३५ देशका पुरुषले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोसाक, सुट लगायत नेपाली पहिरन प्रदर्शन गरेका थिए ।

काठमाण्डौंको मूल पानीका २५ वर्षीय चुडालले ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट मिस्टर इन्टरनेसनल नेपाल २०२३ छनोट भई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन् ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिस्टर इन्टरनेसनल) को फ्रेन्चाइज होल्डर रहेकोले मिस्टर इन्टरनेसनल नेपाललाई प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको छ । अभिषेकको सहभागिता त्यसकै निरन्तरता रहेको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पूरण जोशी, प्रवीणराज जोशी र सुजन जङ्गमले गरेका थिए । लोकेसन नेपालका गौतम धिमालले फोटो सुट गरेका थिए ।