धरान : दशैँको अवसरमा धरान रङ्गशालामा आज शुक्रवार ‘दशैँ फेस्ट २०८३’ आयोजना हुने भएको छ। भिञ्टेज धरानको आयोजनामा हुने उक्त साङ्गीतिक कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा चर्चित ब्यान्ड तथा कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा चर्चित ब्यान्ड द ड्रिमकेचर्स, ट्राईबल रेनसँगै चर्चित र्यापर क्रिजन तथा धरानका लोकप्रिय ब्यान्ड पुरानो कुप्पी र छिरिङ एण्ड द इफेक्ट्सले प्रस्तुति दिनेछन्। एउटै स्टेजमा विभिन्न साङ्गीतिक विधा र स्वादको अनुभव लिन सकिने यस कार्यक्रमले दशैँको माहौललाई थप उत्सवमय बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा द ड्रिमकेचर्सले ‘बिताउने छ’, ‘अनौठो’, ‘याद’, ‘खुसी’ र ‘मोमो सङ’ लगायतका चर्चित गीत प्रस्तुत गर्नेछन्। त्यसैगरी, ट्राईबल रेनले ‘जिउनु नै होला’, ‘सहारा’, ‘शून्यता’, ‘चिन्ता’, ‘कालो’ र ‘स्वर्ग’ जस्ता गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछ।
त्यस्तै, चर्चित र्यापर क्रिजनले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछन् । पुरानो कुप्पीले ‘ब्लु सिटी’ र ‘बैमानी मन’ लगायतका गीतमार्फत दर्शकलाई झुमाउनेछ भने छिरिङ एण्ड द इफेक्ट्सले ‘मन पर्ने झरी’, ‘सुकी’ लगायत आफ्ना मौलिक गीत प्रस्तुत गर्नेछन्।
दशैँको उत्सवलाई सङ्गीत र मनोरञ्जनसँग जोड्दै धरानमा भव्य साङ्गीतिक माहौल सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक दर्शकले खल्ती एप मार्फत अनलाइन टिकट बुक गर्न सक्नेछन्। साथै धरान रङ्गशालामै रहेको टिकट काउन्टरबाट पनि टिकट खरिद गर्न सकिनेछ।
विभिन्न चर्चित ब्यान्ड तथा कलाकारको प्रस्तुति रहने भएकाले दशैँ फेस्ट २०८३ धरान तथा आसपासका सङ्गीत प्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।










































































