धरान : ९० दशकका लोकप्रिय गीत सङ्गीत र कलाकारहरूको सम्झना गराउँदै धरानमा आयोजना गरिएको विशेष साङ्गीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ।
असोज १० गते शनिवार धरान १५ स्थित भिन्टेज बार एन्ड क्लबमा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा ९० दशकमा लोकप्रिय रहेका गीतहरू प्रत्यक्ष प्रस्तुत गरिँदा दर्शकहरू पुराना साङ्गीतिक सम्झनामा रमाएका थिए।
कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले ‘बिर्सिएका यादहरू’, ‘म सधैँलाई’, ‘घुम्दै आउनू धरान बजार’, ‘चिपुगुच्चा’ लगायतका चर्चित गीत प्रस्तुत गरे। उनका प्रस्तुतिमा दर्शकहरूले गीतसँगै गाएर तथा नाचेर साथ दिएका थिए।
त्यस्तै, जेलर्स ब्यान्डका मनोज मोतेले ‘टाढा’, ‘जाने’, ‘हाम्रो जीवन’, ‘भेडेटार’ लगायतका गीत प्रस्तुत गर्दै ९० दशकको साङ्गीतिक माहोललाई पुनः जीवन्त बनाए। रोहित मास्केले ‘दिउँला त्यो जवानी’, ‘मेरी मायालु’, ‘चिसो चिसो’, ‘मर्छु कि क्या हो’ लगायतका लोकप्रिय गीत प्रस्तुत गरे।
ओझेल ब्यान्डका दिलु राईले ‘माछी पर्यो’, ‘पूर्णिमाको जुनेली रात’ र ‘उमेरले नौ डाँडा काटेछ’ लगायतका गीत प्रस्तुत गरेका थिए। कलाकारहरूका प्रस्तुतिमा दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए।
भिन्टेज बार एन्ड क्लबमा भएको कार्यक्रममा ९० दशकको सङ्गीतसँग प्रत्यक्ष रूपमा जोडिएको पुस्ताका दर्शकहरूको उल्लेखनीय उपस्थिति थियो। अधिकांश गीतमा दर्शकहरू कलाकारसँगै गाउने र नाच्ने गरेका थिए।
कार्यक्रमकै अवसरमा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामालाई उनको साङ्गीतिक योगदानको कदर गर्दै सम्मान गरिएको थियो। सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान सङ्गीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ, वरिष्ठ सङ्गीतकर्मी रोशन शर्मा तथा कार्यक्रमका कलाकारहरू मनोज मोते, रोहित मास्के र दिलु राईले संयुक्त रूपमा खादा तथा सम्मानपत्र प्रदान गर्दै लामालाई सम्मान गरेका थिए।









































































