धरान : फिलिपिन्सको राजधानी मनिलामा हुने पुरुषहरूको सौन्दर्य प्रतियोगितामा नेपालबाट काठमाडौँ मुलपानीका अभिषेक चुँडाल सहभागी हुने भएका छन् ।

२५ वर्षीय चुँडाल ग्रुप अफ इभेन्ट इन्टरटनेर्सबाट चौथो मिष्टर इन्टरनेशनल नेपाल २०२३ छनौट भएका थिए । उनी नेपालको प्रतिनिधित्व गर्दै पुरुषहरूको अन्तर्राष्ट्रिय प्रतियोगिता एमआई (मिष्टर इन्टरनेशनल) मा प्रतिस्पर्धा गर्न शनिवार राती मनिला प्रस्थान गरेको ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआईले जनाएको छ ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स एमआई (मिष्टर इन्टरनेशनल)को आरम्भदेखि फ्रेन्चाइज होल्डर रहेकोले मिष्टर इन्टरनेशनल नेपाललाई प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउँदै आएको छ । अभिषेकको सहभागिता त्यसकै निरन्तरता भएको इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले बताए ।

हिमालयन एयरलाइन्समा क्याबिन क्रुका रूपमा कार्यरत ६ फिट अग्ला अभिषेकले बिजनेस एडमिनिस्ट्रेसन एन्ड ट्राभल एन्ड टुरिजममा ब्याचलर गरेका छन् । यात्रा गर्न र फुटबल खेल्न रुचाउने अभिषेकले आगामी अक्टोबर ८ देखि २२ तारिखसम्म फिलिपिन्समा हुने पन्ध्रौँ मिष्टर इन्टरनेशनल २०२३ मा नेपालको प्रतिनिधित्व गरी स्पर्धा गर्नेछन् । विभिन्न ३५ देशका पुरुषहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा अभिषेकले राष्ट्रिय पोशाक, सुट लगायतका नेपाली पहिरन प्रदर्शन गर्नेछन् ।

प्रतियोगितामा यसअघि रोकेश तन्डुकार, साजित आलम र प्रशान्तजंग शाहलाई सहभागी भएका थिए । प्रतियोगितामा रोकेशले राष्ट्रिय पोशाक विधाको टाइटल प्राप्त गरेको सक्सेनाले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि फिलिपिन्सको तयारी पुरण जोशी, प्रविणराज जोशी र सुजन जङ्गमले गरिसकेका छन् । प्रतियोगिताका लागि लोकेशन नेपालका गौतम धिमालले अभिषेकको फोटो सुट गरेका छन् ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले सन् २००३ देखि पुरुष सौन्दर्य प्रतियोगिता म्यान हन्ट नेपालमा आयोजना गर्दै आएको बताइएको छ । प्रतियोगिताबाट पुरुष सौन्दर्य प्रतियोगिताहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल सहभागी हुने अवसर दिलाउँदै आएको अनुप सक्सेना ले दाबी गरेका छन् ।