काठमाडौं : मिसेस वर्ल्ड २०२५ की विजेता थाइल्यान्डकी चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी) तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आउने भएकी छन्।
रिवन इन्टरटेनमेन्टको आयोजनामा शनिबार काठमाडौंस्थित पुलिस क्लबमा हुने मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।
मिसेस वर्ल्डको ताज जितेपछि पहिलोपटक नेपाल आउन लागेकी स्यामीले प्रतियोगीलाई बधाई दिन पाउँदा खुसी व्यक्त गरेको आयोजकका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए।
महिला सशक्तीकरण र सामाजिक परिवर्तनमा सक्रिय स्यामीको उपस्थितिले प्रतियोगीलाई अन्तर्राष्ट्रिय अनुभव र प्रेरणा मिल्ने आयोजक शिला बास्तोलाले बताइन्।
यस वर्ष मिसेस नेपाल वर्ल्डको अन्तिम प्रतिस्पर्धामा २२ जना विवाहित महिला सहभागी हुँदैछन्।










































































