इटहरी : जङ्गली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु भएको घट्ना लगत्तै मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर अर्का एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान बेलबारी-१० भाउन्नेमा जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको हो । मोरङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालका अनुसार लेटाङ नगरपालिका-३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको हो ।

जङ्गल क्षेत्रमा बिहान साढे १० बजेतिर माझीको शव देखेका थिए । प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

साइकलमा लेटाङ घरबाट बेलबारीको लक्ष्मी मार्ग तर्फ आइरहेका बेला माझी हात्तीको आक्रमणमा परेको प्रहरीले अनुमान गरेको छ ।

प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । उक्त घट्ना इटहरीमा आतङ्क मच्चाएका हात्ती हो होइन बताइएको छैन ।