इटहरी : जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं. २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ आर्थिक सहायता प्रदान भएको छ ।

बुधवार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले आर्थिक सहायता प्रदान भएको हो । इटहरीका मेयर हेमकर्ण पौडेलले बिहीबार बिहान मृतक खड्काको घर पुगेर आर्थिक सहायता दिने घोषणा गरेका हुन् ।

इटहरी वडा नं.२ मा जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी विध्वंस मच्चाएको तीन महिना बितिसकेको छ । मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर बिहीबार राति देखि नै रात्रि गस्ती गरिने जानकारी दिए । सर्वसाधारणको जीउधनको रक्षा रात्रिकालीन गस्ती गर्न लागिएको हो ।

हात्तीको समूहले मङ्गलवार बिहान इटहरी वडा नं. २ कै नैनाकुमारी राईको घर भत्काएर क्षति पुर्‍याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं. २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।

भारतको पश्चिम बङ्गाल हुँदै झापाबाट चारकोसे जङ्गल हुँदै चारकोसे जङ्गलमा आएर बसेका हात्तीले यसरी आतङ्क मच्चाउने गरेका हुन् । इटहरीमा चार वटा छावासहित २८ वटासम्म हात्तीले आँतक मच्चाउने गरेका छन् ।

नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन् । यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिँडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए ।