इटहरी : इटहरी-२ मा मङ्गलवार बिहान झिसमिसे उज्यालो हुन नपाउँदै गाउँमा छिरेको हात्तीको समूहले नैनाकुमारी राईको घर भत्काइदिएको छ । मानवीय रूपमा कुनै क्षति नभए पनि घटनासँगै हात्तीको त्रास र विपत्तिको आशङ्का गाउँमा छाएको छ ।

दुई महिना अघि पनि इटहरी वडा-२ कि लक्ष्मी राईको छाप्रो हात्तीले भत्काएको थियो । सामान्य बासको बेरा र टिनको छाना लगाएर बनाएको छाप्रो भत्काएपछि बिचल्लीमा परेकी उनको घर अहिले निर्माणाधीन अवस्थामा छ ।

तरुण दल सुनसरीले राईको घर निर्माणको जिम्मा लियो । तरुणका युवाहरूको आर्थिक तथा भौतिक सहयोगमा घर निर्माण सम्पन्न भएको छ । तरुण दलले २ कोठे पक्की टिनको छानो भएको घर बनाएर राईलाई मङ्गलवार नै हस्तान्तरण गरेको हो ।

हात्ती दैनिक गाउँ पस्न थालेपछि स्थानीय त्रसित हुन थालेको वडाध्यक्ष माधव प्रसाद कोइराला बताउँछन् । हात्ती नियन्त्रणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको कुनै योजना नरहेको बताउँदै उनले सबैलाई सचेत रहन आग्रह गरे ।

जङ्गल आसपासको बस्तीमा खानेकुरा खोज्न हात्ती आउने भएकाले सजगता अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

वडाध्यक्ष कोइरालाले हात्ती नियन्त्रणको लागि विद्युतीय तार जाली लगाउन सकिने बताए पनि त्यसले पनि दीर्घकालीन समाधान नदिने बताए । खोला नजिकै बस्ती भएकाले सडक र खोलाबाट हात्ती गाउँमा आउन सक्ने उनको बुझाइ छ ।

पछिल्लो समय चारकोशे जङ्गलको बिचमा ठुलो सडक भएको कारण हात्ती बस्ती भित्र पसेको जानकार बताउँछन् । खानेकुराको अभाव र वन्यजन्तुमैत्री पूर्वाधार विकाश नहुँदा मानव-वन्यजन्तु द्वन्द्व बढ्ने उनीहरू बताउँछन् ।

हात्तीलाई तत्काल भगाउने उपाय अपनाइए पनि दीर्घकालीन उपाय स्थानीय सरकारले खोजेको पाएको छैन । एक वर्ष अगाडीको हिउँदमा इटहरी हात्तीबाट आतङ्कित बन्यो । ठुलो समूहमा आएको हात्तीले इटहरीका २, ३, १९ र २० नम्बर वडाका स्थानीयलाई आजित बनायो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल जनताको साथमा स्थानीय सरकारको भएको अभाष दिलाउने गरी हात्ती धपाउन लागे । मध्यरात सम्म पनि मेयर आफै टर्च लाइट बालेर स्थानीय सँगै हात्ती खेदाउने ड्युटीमा खटिए ।

हात्ती आउने बाटोका पोलमा बत्ती बाल्ने कामको अग्रसरता लिए । त्यसको केही दिन पछि हात्ती आफ्नो बाटो लाग्यो । हात्तीले बाटो सम्झिएर एकबर्ष पछि पुनः इटहरीको स्वाद मेटाउन आइपुगेका जस्तो भएको छ ।

यसबाट मेयर आफै लागेर तत्काल हात्ती धपाउने कार्य प्रशंसनीय भए पनि दीर्घकालीन रोकथामको उपाय बिना हात्ती आतङ्कबाट इटहरी मुक्त नहुने देखिएको छ ।