धरान : बङ्गलादेशमा आइतबार ७ जनवरीमा भएको आमचुनावमा पुनः अवामी लीगले बहुमत हासिल गरेपछि वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक प्रधानमन्त्री बनेकी छन् ।

त्यहाँ भएको चुनावमा अवामी लीगलाई ५० प्रतिशत भन्दा बढी मत प्राप्त भएको बताइएको छ । बङ्गलादेशको प्रमुख प्रतिपक्षी पार्टी बङ्गलादेश नेशनलिष्ट पार्टी लगायत विपक्षी दलहरूले चुनाव बहिस्कार गरेका थिए ।

बङ्गलादेशमा लोकतन्त्रको हत्या गरिएको, मानवअधिकार हनन भइरहेको आरोपका बिच भएको चुनाव विश्व राजनीतिमा चासोको विषय बनेको बिबिसीले जनाएको छ ।

प्रतिपक्षी दलहरूले बहिस्कार गरेको चुनावमा अवामी लीगको जीत मतदाता अघि नै सुनिश्चित थियो । यस्तो स्थितिमा भएको चुनावको परिणामपछि शेख हसिना पुनः प्रधानमन्त्री बनेकी हुन ।

उनी प्रधानमन्त्री बने लगत्तै सोमवार बेलुकी सम्म भारत, चीन, रुस, पाकिस्तान, श्रीलङ्काका राजदूतहरूले भेटेरै बधाई दिए पनि पश्चिमी मुलुकहरूले बधाई दिएका थिएनन् ।