धरान : हङकङको डिएबी पार्टी डेमोक्रेटिक एलाइन्स फर बेटरमेरन्टले प्रधानमन्त्री उद्धार कोषमा बुधवार ४० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

हङकङस्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत सतिस गुरुङलाई पार्टी अध्यक्ष गेरी चेनले उक्त रकम हस्तान्तरण गरेको डिएबीले विज्ञप्ति मार्फत जनाएको छ ।

डिएभी बेइजिङ समर्थक राजनीतिक दल हो । नेपाली समुदायका स्थानीय नेता कुलप्रसाद गुरुङले दिएको जानकारी अनुसार चिन सरकारले नेपाल सरकारलाई सिधै सहयोग गरेपनि डिएबीले भने भोटेकोशी बाढी पीडितलाई पार्टीको फण्डबाट सहयोग गरेको हो ।

नेपालका बाढी पीडितलाई अलग्गै आर्थिक सहयोग गर्ने विदेशी दल सम्भवतः यो पहिलो हो । हङकङका डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङका अनुसार बाडीपीडितलाई सहयोगार्थ रकम हस्तान्तरणमा अध्यक्ष गेरीसहित उपाध्यक्ष रहेका सांसद होल्ड चो, सांसद भिन्सेन्ट चेन, डिस्टिक काउन्सिलरद्वय अरुणा गुरुङ र बेनी यङ, कुलप्रसाद गुरुङ लगायत उपस्थित थिए ।

कावा महावाणिज्यदूत गुरुङले विपदमा सहयोग गर्नेलाई धन्यवाद दिँदै प्राप्त सहयोग तत्काल प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्ने जानकारी दिएको डिस्टिक काउन्सिलर अरुणा गुरुङले बताइन् ।