धरान : बराहका मुख्य मालिक शिव लामिछानेले हालै सामाजिक सञ्जालमा धरानका बराहका सञ्चालकहरूले व्यक्तिगत स्वार्थले कम्पनी डुबाएर गलत व्यक्तिहरूसँग मिलेको आरोप लगाएकोमा बराहको स्वामित्व परिवर्तन गरी नयाँ कम्पनीबाट सञ्चालन गर्न बनेको समन्वय तथा अनुगमन समितिले आपत्ति जनाएको छ ।

श्यामप्रसाद ढकाल, विष्णुकुमार राई, नरेन्द्र इङवारम लिम्बुको विज्ञप्तिमा बराहका अध्यक्ष शिव लामिछानेले लगाएको आरोपप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै ‘बराहका सञ्चालकहरूसँग समन्वय र सहयोग गरी ३ बुँदे, १८ बुँदे, १४ बुँदे सहमति गरी व्यवसाय सञ्चालन गर्न अघि बढ्न दिइएकोमा बचतकर्ताका रकम फिर्ता नभएपछि’ छुट्टै कम्पनी मार्फत व्यवसाय सुरु गरिएको बताएको छ ।

विज्ञप्तिमा बराहका पुराना सञ्चालकहरू भन्दा अलग्गै समन्वय समितिले छुट्टै कम्पनी खोलेको जनाए पनि पछिल्लो गतिविधिहरूमा बराहका पुरानै सञ्चालक मानबहादुर दियालीले नै सार्वजनिक सूचनाहरू सामाजिक सञ्जालमा जारी गरिरहेका छन् ।

त्यसबाट बराहको मुख्य अध्यक्ष शिव लामिछानेले कम्पनी डुबाएको आरोप लगेकाहरू नै स्वामित्व परिवर्तनको कारोबारमा पनि संलग्न रहेको देखिन्छ । समन्वय समितिका सदस्य अमर इजमले भने बराहको पुराना सञ्चालकहरूको नयाँ कम्पनीमा कुनै पनि किसिमको संलग्नता नभएको दाबी गरे ।

उनीहरूको संलग्नता नहुँदा बराहका बचतकर्ता, लगानीकर्ताका रकम डुबेकोप्रति उनीहरूलाई कानुनी रूपमा जिम्मेवार बनाइएको बारेमा भने विज्ञप्तिमा कुनै कुरा खुलाइएको छैन । स्वामित्व परिवर्तन भएपछि उनीहरूले उन्मुक्ति पाउँछ ? प्रश्न बाँकी नै रहेको छ ।

समन्वय समितिको लामो वक्तव्यमा बराह डुबाउनेमा मुख्य दोषी बराह ग्रुपका अध्यक्ष शिव लामिछाने भएको आरोप लगाउँदै उनले मोज मस्ती, भोगविलास, विदेश शेयरमा सबै सम्पत्ति सिद्ध्याएर बाँकी रहेको सम्पत्ति सुनियोजित ढङ्गले श्रीमतीलाई अंश मुद्दा लगाउन लगाएर हडपेको आरोप लगाएको छ ।

baraha bigyapti 081-03-28

baraha bigyapti 081-03-28 2nd