धरान : बराह ज्वेलरी सहित सम्बद्ध सबै कम्पनी बराह ग्रुप अफ कम्पनीको मालिक अध्यक्ष शिव लामिछानेले हालै एक खुलापत्र सार्वजनिक गर्दै हाल धरानमा बराहको नाममा भइरहेको स्वामित्व परिवर्तनको काम बराह पीडितहरूबाट फेरी ८० करोड सङ्कलन गर्ने उद्देश्यले भइरहेको खुलासा गरेका छन् ।

उनले उक्त ८० करोड रुपैयाँ जम्मा गरेर के गर्न आँटेका हुन् भन्ने प्रस्ट नभएको उल्लेख गर्दै पत्रमा भनेका छन्, ‘भविष्यमा यसको अर्को ठुलो चोट धरानवासीलाई दिन थाल्दैछ भन्ने जानकारी मलाई प्राप्त भएकाले आज सामाजिक सञ्जालबाट भएपनि बाध्य भएर यो कुराको जानकारी दिँदैछु ।’

बराह डुबाउनेहरू अहिले स्वामित्व परिवर्तनमा सक्रिय रहेका बराहका सञ्चालकहरू भएको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘मलाई धोका दिँदै पदीय दुरुपयोग गरी व्यक्तिगत स्वार्थ गर्नेहरू रहेछन्, त्यस्ता धमिलो पानीमा माछा मार्न पल्केका केही मेरा सहकर्मीहरूले मलाई र बराह ग्रुपलाई नै फसाउने नियतले लागेका छन् ।’

उनीहरूले कम्पनीले कारोबार गरिरहेको प्राइम कमर्सियल बैङ्कबाट स्वीकृत भईसकेको कर्जा नपाउने गरेर आफ्नो मिलेमतोमा लिलामको नाटक गरी स्वामित्व परिवर्तन गर्न लागेको उल्लेख गरेका छन् ।

पत्रमा भनेका छन्, ‘आफ्नै टिमका सञ्चालक समितिका मित्रहरूले नै शत्रुतापूर्ण व्यवहार गरेर निहित स्वार्थ सिद्ध गर्न बराहलाई सिद्ध्याउन बचतकर्ताहरूलाई उक्साएर धरान उपमहानगरपालिका पुगी बराहका सबै सम्पत्ति रोक्का गराए ।’

‘मलाई झुट्टा मुद्दा लगाएर थुन्ने काम भो, म एक्लै कानुनी लडाई लड्दै काठमान्डु र धरानका आम बचतकर्ताहरूको बचत रकम फिर्ता दिन, तिर्नुपर्ने आर्थिक दायित्व पूरा गर्ने लक्ष्यमा हिँडिरहेको थिएँ ।’

अहिले पनि पक्राउ पुर्जी बोकेर प्रहरीले आफूलाई खोजिरहेको उल्लेख गर्दै शिव लामिछानेले पत्रमा लेखेका छन्, 'पटक-पटक मुद्दा लगाएर मलाई र मैले नेतृत्व गरेको प्रतिष्ठानहरूलाई फसाइ सिद्ध्याउन धोकेबाज सहकर्मीहरूले सङ्घर्ष समन्वय समितिका गलत प्रवृत्तिका व्यक्तिहरूसँग मिलेका छन् ।'

बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेले सार्वजनिक गरेको अपिल !