सुनसरी: स्व. बिमल गुरुङ स्मृति पुस्तकालयद्वारा आयोजित २८ औ नेपाली कविता प्रतियोगितामा रामेछापका कवि जीवन खत्रीको कविता ‘आगोको आवाज’ प्रथम भएको छ ।

शनिबार धरान १८ स्थित पुस्तकालयमा स्व. विमल गुरुङको ४७ औ जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा खत्रीको कविता प्रथम भएको हो । प्रतियोगितामा काठमाडौकी कवि स्मीता श्रेष्ठको ‘पासपोर्ट उडान’ शीर्षकको कविता द्धितीय भयो भने गण्डकी गाउँपालिकाका कवि योगेश घिमिरेको ‘बादल’ शीर्षकको कविता तृतीय भएको थियो । उनीहरुले क्रमश: नगद २० हजार, १५ हजार र १० हजारसहित प्रमाणपत्र हात पारे । प्रथम पुरस्कार विजेता खत्रीले आफ्नो पुरस्कारवापतको रकम मधुवन साहित्यिक प्रतिष्ठानको अक्षयकोषमा प्रदान गर्ने घोषणा पनि गरेका थिए ।

देशभरीबाट प्राप्त एको २ सय भन्दा बढी कविताहरु मध्येबाट उत्कृष्ट १४ वटा कविता छनौंट गरिएको थियो । ती मध्ये ३ कवितालाई पुरस्कृत गरिएको पुस्तकालयका सदस्य सुदीप पाख्रीनले बताए । ‘दुई सय कवितामध्ये १५ वटा कविता कवि मनु मञ्जिल, बद्री भिखारी र हेमन यात्रीले छनौट गर्नुभएको थियो,’ पाख्रीनले भने, ‘छनौट कवितामध्ये तीन वटा कविता विप्लव ढकाल र रमेश क्षितीजले छनौट गर्नुभएको हो ।’

1

कार्यक्रममा बोल्दै कवि अनिल पौडेलले लाहुरे भएर पनि पुस्तकालय स्थापना गरेर स्रष्टा उत्पादन गर्नु अनुकरणीय रहेको भन्दै बिमलका बाबु पूर्णबहादुर गुरुङको प्रशंसा गरे । प्राध्यापक डाक्टर टंक न्यौपानेले दुई सय कवितामा १४ वटा कविता छनौट हुनु आफैँमा पुरस्कृत हुनु रहेको बताए । गीतकारसमेत रहेका प्रमुख अतिथि एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले आफुले धेरै पूर्णबहादुरहरुलाई चिनेपनि असली कामको पूर्णबहादुर भर्खरै भेटेको बताए । ‘धरान भनेको साहित्यको धरोहर स्थान रहेछ,’ उनले भने,‘पछिल्लो समय सरकारी पुस्तकालयहरु विलिन हुँदै गएको समयमा एउटा व्यक्तिले सञ्चालन गरेको पुस्तकालय फस्टाउँदै जानु सराहनीय कुरा हो ।’

कार्यक्रममा प्रतिनिधि कविता समेत वाचन गरिएको थियो । प्रतिनिधि कविता वाचन गर्ने स्रष्टाहरुमा धरानका अग्रज कवि बम देवान, सन्तोष थेवे, मुक्तिनाथ घिमिरे, प्रदीप मेन्याङ्वो, त्यस्तै अन्य सर्जकहरुमा मुकुन्द खलपात्र, रसिक राज, धीरज राई, नवराज मैनाली, श्रेष्ठ परिक्रमा, देवान किराँती, उमेश लुईँटेल लगायत रहेका थिए । पुस्तकालयले हरेक बर्ष बिमलको जन्मजयन्तीको अवसरमा कविता प्रतियोगीताको आयोजना गर्दै आएको छ ।