इटहरी: कवि कृष्ण पाख्रिनका प्रतिनिधि कविताहरु धरानमा बिमोचन भएको छ ।

शनिबार धरानको होटल रत्न इनमा पाख्रिनका प्रतिनिधि कविताहरु बिमोचन भएको हो । संग्रहको कुन्ता शर्मा, बम देवान, राजेश बिद्रोही, सन्तोष थेवे, रामप्रसाद खरेल, टीका आत्रेयलगायतले बिमोचन गरेका थिए ।२००२ सालमा धरानमा जन्मिएका पाख्रिनको २०५० सालमा निधन भएको थियो । तीसको दशकमा सशक्त कविकोरुपमा रहेकय पाख्रिनको यसअघि तीन वटा संग्रह प्रकाशित भइसकेको थियो । कवि तथा पत्रकार राजेश बिद्रोहीले कार्यक्रममा बोल्दै पाख्रिन भद्र स्वभावका रहेको र उनका कविता प्रगतिवादी भएको बताए । ‘उहाँ २०३० को दशकमा कविता र शारीरिक रुपमा अब्बल हुनुहुन्थ्यो,’ बिद्रोहीले भने,‘२०४० को दशकमा भने स्वस्थमा कमजोर रहेपनि उहाँको लेखन अब्बल रह्यो ।’

पाख्रिन बैचारिक दृष्टिकोणले प्रगतिवादी धारका कवि रहेको उदृत गर्दै उनका प्रतिनिधि कविता बजारमा आउनुले नयाँ पुस्ताका लागि अतुलनीय योगदान रहने बिद्रोहीको तर्क थियो । पाख्रिनका समकालिन कवि बम देवानले शिष्ट स्वभाव भएको र कवितामा ठुलो दख्खल राख्ने व्यक्ति रहेको उल्लेख गरे । ‘उहाँका कविताहरुले देश समेट्छ, प्रेम समेट्छ, अर्थात् सिंगो कविता समेट्छ,’उनले भने,‘कृष्ण जी कवितामा निकै दख्खल राख्ने व्यक्ति हुनुहुन्थ्यो, उहाँ सरल र शिष्ट हुनुहुन्थ्यो ।’

krishnaa

स्वागतम जिन्दगी !!
स्वागतम मृत्यु !!!
र, लेखिदिन्छु

बुद्धं शरणं गच्छामी !
संघ शरणं गच्छामी !!
धम्मं शरणं गच्छामी !!!
मृत्यु शरणं गच्छामी !!!

देवान किराँतीले पाख्रीनको ‘बिक्षिप्तहरुको भाषण’ शीर्षकको कविता हलमा वाचन गर्दा आमन्त्रित अतिथिहरुले परर्र ताली बजाए । उनका कविताहरुले गहिरो चित्रण गर्ने किराँतीले बताए । कार्यक्रममा पाख्रिनका छोरा एवं सशक्त युवा कवि सुदिप पाख्रिनले भने आफु पनि बुबाकै प्रेरणाबाट साहित्य क्षेत्रमा क्रियाशिल रहेको सुनाए । उनले भने,‘मैले सानैबाट बुवाको प्रेरणाबाट साहित्य क्षेत्रमा लाग्ने अवसर पाएँ, हाम्रो घरमा साहित्यिक भेला भईरहन्थ्यो, यसबाट निकै प्रेरणा मिल्यो ।’ बुवाको स्मरण गर्दा उनी भावुक बने ।

krishna

पाख्रिनको ‘शताब्दी’, ‘सन्त्रास’ र ‘तिमी लहर नदीको’ बाट छानेर १६ वटा कविता समेटेर प्रकाशित गरिएको छोरा सुदिपले बताए । ‘अझै केही लेखहरु अप्रकाशित रहेको छ, पछि बुवाका ती अप्रकाशित लेखहरु समेटेर प्रकाशन गर्ने योजना छ,’ उनले भने । कलरब धरानले आयोजना गरेको कार्यक्रम राज माङ्लाकले सञ्चालन गरेका थिए भने पूर्वका विभिन्न ठाउँबाट आएका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो । पाख्रीनको नाममा रहेको कृष्ण पाख्रिन प्रतिष्ठान नामक प्रकाशन गृहबाट उक्त संग्रह प्रकाशन गरिएको हो भने कवितासंग्रहको नाम ‘कविताहरु’ रहेको छ ।