धरान : धरानमा साहित्य, कला, संस्कृति र फोटोग्राफी त्रिआयमीक मिश्रणको काव्य कला कोलाज २०८३ शनिवार सम्पन्न भएको छ । 
कार्यक्रम दुई विशेष सत्रमा भएको थियो । ‘कथा धरानको’ विषयमा डा.दीपक न्यौपानेले धरानको ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भमा धरानको कथा साहित्यको विकास क्रम र कथाकारहरूको प्रवृत्तिबारे प्रकाश पारे ।
‘हामीले बनाइरहेको मानिस’ विषयमा मनोवैज्ञानिक रुकुम टमटा र सह–प्राध्यापक डा. इन्दिरा मिश्रले मानव मनोविज्ञान र समाज निर्माणबिचको सम्बन्धबारे विमर्श गरे । सत्रको सहजीकरण राज माङलाकले गरेका थिए ।
काव्य–कला कोलाजमा मातृभाषाका स्रष्टाहरूले रचना वाचन गरे । निमा पोङ्स्युवा भोटे, रामनन्द चौधरी, मिश्रा गुरुङ, आइतु ग्याबा, लीला मगर, भीम विरही, वर्षा धिमाल, भवानी शङ्कर भट्टराई र बाली छथरेले मातृभाषामा कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रमका बिच आयोजित फोटोग्राफी प्रदर्शनीले आकर्षण थपेको थियो ।
प्रदर्शनीमा दीपेश योञ्जनका मञ्चीय क्षणका तस्बिर, राजेश शाक्यका प्रकृति र जीवनका ल्यान्डस्केप फोटोग्राफी, रोजेश शाक्यका सिर्जनात्मक तस्बिरहरू प्रदर्शनमा थिए । 
कार्यक्रममा सहभागी कवि सुदीप पाख्रिनले शब्दका कविता र कलाका रङ्गसँगै तस्बिरभित्र बोलिरहेका कथासँग साक्षात्कार गर्ने अवसर मिलेको बताए ।
कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा तथा धरान उपमहानगरपालिकाको सहयोगमा काव्य–कला कोलाज २०८३ आयोजना कार्यक्रमको अध्यक्षता राजेश विद्रोही गरेका थिए।