धरान : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा प्रकाशित ‘लक्ष्मी सडकका कविता’ कविता सङ्ग्रहको  शनिवार आयोजित एक समारोह बिच नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्राडा.भीमप्रसाद खतिवडाले विमोचन गरेका छन् ।
लक्ष्मी वाचनालयद्वारा प्रकाशित कविता सङ्ग्रह पुस्तकको यसपालि २० औँ संस्करण हो । धरान १ स्थित वाचनालय नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा २०१६ सालमा स्थापित पहिलो संस्था हो । देवकोटा निधन लगत्तै स्थापना भएको वाचनालयको आफ्नै भवन छ ।
वाचनालयले पहिलो पटक २०५९ सालमा तत्कालीन अध्यक्ष मदन ढकालको सम्पादनमा ‘लक्ष्मी सडकका कविता’ प्रकाशन गरेको थियो । त्यस पछिका कार्यसमितिले प्रत्येक वर्ष लक्ष्मी जयन्तीमा कविता सङ्ग्रह प्रकाशित गर्दै आएको छ । लक्ष्मी सडकका कविता २०८३ को प्रधान सम्पादक शङ्कर भण्डारी छन् ।
कुल २१३ पृष्ठको बिसौँ संस्करणमा ७८ वटा कविता सङ्ग्रहीत छन् । देवकोटाको साहित्यिक कृतिहरू माथि गरिएका समालोचनात्मक ७ वटा लेख सङ्ग्रहमा समावेश छन् । कार्यक्रममा सङ्ग्रह पुस्तकको समीक्षा गर्दै प्राडा. रमेश घिमिरेले २० संस्करणले लक्ष्मी वाचनालयको पछिल्लो इतिहासलाई निरन्तरता दिएको बताए ।
कविताहरूको नयाँ सङ्ग्रहमा पुराना देखी नयाँ पुस्ताका प्रतिनिधि कविहरू समेटिएको बताउँदै भने ‘कवितहरुमा कवितामा जेनजी विद्रोह, विदेश पलायनको निराशा देखी नारी विद्रोहका स्वरहरू पाइन्छन् ।’ उनले एक दुई कविता कविता धार्मिक श्लोक भएको बताउँदै भने ‘यसमा सम्पादक चुकेका छन्, धार्मिक श्लोकलाई कविताहरूको सङ्ग्रहमा स्थान दिइनु आवश्यक थिएँ, त्यसको छुट्टै महत्त्व र स्थान छ ।’
कार्यक्रममा दुई स्रष्टालाई सम्मानित गरियो । स्वार्गिय राजेन्द्रबहादुर थापालाई गरिएको मरणोपरान्त सम्मान उनका छोरा सारा थापा प्रतिष्ठानको अध्यक्ष वीरेन्द्रकुमार थापाले ग्रहण गरेका थिए । यसै गरी कवि भरतमणि भट्टराईलाई स्रष्टा सम्मान स्वरूप दोसल्ला ओढाई प्रमुख अतिथि प्राडा. खतिवडाले सम्मान पत्र प्रदान गरे ।
वाचनालयका अध्यक्ष टेकबहादुर ढकालको सभापतित्वमा भएको समारोहको सञ्चालन सचिव सोमनाथ रेग्मीले गरेका थिए ।