धरान : कविता र निबन्ध साहित्यका फरक विधा हुन । कविता कृतिलाई समीक्षकले निबन्धमय भनेको सुनिएको छैन । धरानमा आज सोमवार विमोचन गरिएको डा. अस्मिता विष्टको निबन्धहरूको सङ्ग्रहलाई भने समीक्षकद्वयले कवितामय रहेको बताए ।

यसअघि पोहोर २०७२ फागुनमा उनको कविता सङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ प्रकाशित भएको थियो । त्यसबेला महेन्द्र क्याम्पस अङ्ग्रेजी विभागले गरेको समीक्षामा उनका कविता उत्तर आधुनिक अभिव्यक्ति भएको बताएका थिए ।

विभागकै आयोजनामा प्राज्ञ विवश पोखरेलबाट आज विमोचन गरिएको विष्टको निबन्ध सङ्ग्रह ‘समयशालामा नृत्य मग्न आकृति’ लाई समीक्षक द्वय प्राडा.इन्दिरा मिश्र र डा.दीपकप्रसाद न्यौपानेले कवितामय निबन्धहरू भएको बताएका हुन ।

डा.अस्मिताको निकै चर्चामा आएको पहिलो नेपाली कविता कृतिको चर्चाको कारण उनको निबन्ध पनि कवितामय भनिएको हो की कविता लेखनको प्रभाव निबन्धमा परेको हो, समीक्षकद्वयले त्यो भने स्पष्ट गरेनन् । उनको निबन्धका शीर्षकहरू मात्र पढ्ने हो भने कविता र निबन्ध ठम्याउन गाह्रो देखिन्छ।

प्राडा.इन्दिरा मिश्रले भनिन् ‘निबन्ध खुल्ला अभिव्यक्तिको विधा हो, अङ्ग्रेजी साहित्यमा निबन्धका बारे निश्चित विधान पाइँदैन ।’ अर्थात् निबन्ध कविता जस्तो पनि लाग्न सक्छ, कथा जस्तो पनि लाग्न सक्छ र लेखकको आत्माभिव्यक्ति पनि निबन्धमा प्रकट हुनसक्ने उनको कथन थियो ।

तर निबन्धहरूमा विष्टले धरानको सवालमा आफ्नो ठाउँप्रतिको माया स्थानीयताको भावना देखी दैनिक जीवनका घटनाक्रम, प्राकृतिक वातावरणले मानिसको मनस्थितिमा पर्ने प्रभावको चित्रण, नारीवादी सोच सम्मको अभिव्यक्ति निबन्ध मार्फत प्रकट गरेको प्राडा.मिश्रले बताइन् ।

डा.दीपक न्यौपानेले भने ‘अस्मिता विष्टका निबन्धहरूमा उनको वरिपरि अनुभव गरिएका निजात्मक अनुभूतिहरूको सकारात्मक अभिव्यक्तिहरू प्रकट गरिएका छन् ।’ कुनै निबन्ध संस्मरण गरिएको जस्तो, कुनै निबन्ध बहुअर्थी खालका भएको उनले बताए । सङ्ग्रहमा कुल १७ वटा निबन्ध छन् ।

डा.न्यौपानेका अनुसार निबन्ध विधा स्वतन्त्र विधा भएकोले यसमा आफ्नो विचार, संस्मरण, आत्मालाप जेपनि पोख्न सकिने भएकाले लेखक स्वच्छन्द बन्न सक्छन् । तर डा.विष्टको निबन्धहरू ‘पोजिटिभ थिङकिङ’मा बसेर लेखिएको देखिन्छ किनकि निबन्धहरूमा सकारात्मक पक्ष प्रबल भएको उनको भनाई छ ।

प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले सशक्त कविको रूपमा चर्चामा आएकी विष्टको निबन्ध सङ्ग्रह सार्वजनिक भएपछि बहुविधामा उनी कति सफल हुने हुन भन्ने प्रश्न पनि गरिन सक्ने बताउँदै भने ‘कविता लेख्ने कवि साहित्यका सबै विधामा लेख्न सफल हुन्छन् ।’ उनले लक्षीप्रसाद देवकोटा देखी श्रवण मुकारुङ सम्मको उदाहरण दिए ।

महेन्द्र क्याम्पस अङ्ग्रेजी विभाग प्रमुख मोहन पोखरेलको सभापतित्वमा भएको विमोचन कार्यक्रमको सहजीकरण डा.जीवनकुमार राईले गरेका थिए ।

कार्यक्रममा सहभागीहरूसँग भएको अन्तरक्रियामा निबन्धकार विष्टले आफ्नो विषय अंग्रजी साहित्यको समालोचना भए तापनि समालोचना लेखनको रुचि नभएको बताइन् । एक प्रश्नको जवाफमा उनले भनिन् ‘निबन्धका बारे सबै जानकारी नभए पनि समीक्षक, समालोचकको सकारात्मक कुराले आफु्लाई लेखनका लागि उत्प्रेरणा पाएकी छु ।’