धरान : विश्वकर्मा मन्दिर व्यवस्थापन समितिले यसपाली पहिलो पटक विश्वकर्मा पूजाको दिन भक्तजनबाट सङ्कलित रकमको आय–व्यय सार्वजनिक गरेको छ ।
धरान–८ चारकोशे जङ्गल स्थित विश्वकर्मा मन्दिरमा यसपाली कुल २ लाख ४२ हजार भेटी रकम बचत भएको समितिले जनाएको हो । भेटी स्वरूप कुल २ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएकोमा खर्च कटाएर उक्त रकम बचत भएको जनाएको छ ।
समितिले आइतबार पत्रकार सम्मेलन गरी असोज १ गते विश्वकर्मा पूजामा मन्दिरमा चढाइएको भेटी तथा सङ्कलित रकमको विवरण सार्वजनिक गरेको हो । समितिले पूजामा कुल ४० हजार ६ सय रुपैयाँ खर्च भएको जनाएको छ ।
समितिका अध्यक्ष सुवास श्रेष्ठले बिश्वकर्मा पुजा गर्न करिब १५ हजार भक्तजनहरू आएको बताए । भक्तजनबाट प्राप्त रकममा पारदर्शिता कायम गर्न पहिलो पटक आय–व्यय सार्वजनिक गरिएको उनको भनाई छ । उनले आगामी वर्ष पनि मन्दिरको सम्पूर्ण आय–व्यय सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।
श्रेष्ठले अध्यक्ष भएपछि मन्दिर व्यवस्थापनमा सुधार गर्दै प्रवेशद्वार निर्माण र ३० वटा गाईबस्तु राख्न सकिने व्यवस्थित गौशाला निर्माण गरिएको बताए । उनले मन्दिरको संरचना तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
मन्दिर व्यवस्थापन समितिले भोटेकोशी बाढी पहिरोबाट प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० हजार ५०५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । श्रेष्ठका अनुसार उक्त रकम सुनसरी जिल्ला प्रशासन कार्यालय मार्फत कोषमा पठाउने निर्णय भएको छ ।








































































