धरान : नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा.भीमप्रसाद खतिवडाले साहित्यको समालोचनाले रचनालाई अनावश्यक हौस्याउँदा श्रष्टाको वास्तविक मूल्याङ्कन नहुने बताएका छन् ।
विषयको विज्ञता नभएकाले पनि जुनसुकै विषयमा समालोचना गर्दा अनावश्यक हौस्याउने र होच्याउने सम्मका प्रवृत्ति नेपाली समालोचनामा पाइने उनको भनाई थियो । प्राडा.खतिवडाले संस्कृत साहित्यको प्रसङ्ग उल्लेख गर्दै भने भने ‘समालोचक आचार्य राजशेखरले समालोचकहरू चार खाले भएको उल्लेख गरेका छन् ।’
कवि शिरोमणि साहित्य साधना समाजको वार्षिक साधारण सभामा शनिवार विमोचन भएको २ पुस्तकको परिचर्चाको प्रसङ्गमा उपकुलपति खतिवडाले भने ‘पहिलो खाले समालोचकहरू लरतरो लेखनलाई यो गज्जब गर्यौ भन्दै भन्दैनन् ।’
'उनीहरूले यो राम्रो भएको छैन, अझै राम्रो हुनुपर्छ भन्छन्' भन्ने उनको भनाई थियो । रचनाकारलाई हौस्याउन गरिने समालोचनाबारे प्राडा.खतिवडाले भने ‘हामी तिमीले जे गरेका छौ राम्रो छ, अझ राम्रो गर्नु भन्छौँ नि, त्यसले स्रष्टाको रचना गर्ने क्षमतालाई बिगार्छ भनिन्छ।’तेस्रो खालको समालोचकहरू ईर्ष्याले, डाहले नकारात्मक पक्षलाई बढी प्राथमिकता दिएर स्रष्टाको रचनाको अवमूल्यन गर्ने प्रवृत्तिका हुने उनको भनाई थियो । प्राडा.खतिवडाले भने ‘काठमाण्डौबाट छापिने कतिपय समालोचना जसलाई छन्दका बारे ज्ञान छैन उसले छन्दको बारेमा व्याख्या गर्छ, जसलाई गजलका बारे ज्ञान छैन उसले गजलको तिन पुस्ते व्याख्या गर्छ ।’
उनले कार्यक्रममा प्रह्लाद नेपालीको कविता सङ्ग्रह ‘समारम्भ’ र शिरोमणि साहित्य साधना समाजको साहित्यिक पत्रिका ‘तपसी’ विमोचन गरे । समारम्भका समीक्षा राजेश विद्रोही र तपसीको समीक्षा डा.सुभाष न्यौपानेले गरेका थिए । सोही समीक्षाको प्रसङ्गमा साहित्यको समालोचनाको परिचर्चा भएको हो ।
सभामा श्रष्टाहरु सुदिप पाख्रिन, हिक्मत खड्का, सवि मेवाहाङ, मछिन्द्र खत्री, इन्दु योञ्जन, नगेन्द्र सुवेदी, बलराम खड्का, कृष्णकुमारी पौडेल, तेजनाथ घिमिरे, प्रह्लाद नेपाली लगायतले रचना वाचन गरे ।
समाजका अध्यक्ष डा.भवानी शङ्कर भट्टराईको सभापतित्वमा भएको सभा उपसभापति डा.महानन्द तिम्सिनाले सञ्चालन गरेका थिए । सभाले कोषाध्यक्ष जगन्नाथ कट्टेले कुल ४ लाख ७७ हजार ९६३ रुपैयाँको आर्थिक प्रतिवेदन पास गरेको छ ।









































































